डीआईजी भट्टराईको भाग्य : ‘ब्याची’ ले राजीनामा दिएपछि थोरै समयका लागि भए पनि एआईजी

लोकपथ
6.2k
Shares

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि नायव महानिरीक्षक (डीआईजी) जनक भट्टराई सिफारिस भएका छन् । आज आइतबार बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले कर्णाली प्रदेश प्रहरी प्रमुख रहेका भट्टराईलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

उनी ३० बर्से सेवा अवधिका कारण आगामी चैत ५ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् । भट्टराई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची हुन् । भट्टराईसहित चैत ५ गतेबाट ३० वर्षे सेवा अवधिका कारण २०५१ चैत ५ गते भर्ना भएका सबै अधिकारी एकसाथ अवकाश हुनेछन् ।

भट्टराईलाई एआईजीमा बढुवा गर्नकै लागि एआईजी रवीन्द्र केसीलाई राजीनामा गराएर कोटा खाली गराइएको थियो । मन्त्रिपरिषद्को पछिल्लो बैठकले केसीको राजीनामा स्वीकृत गरेको थियो ।

भट्टराईलाई एआइजी बनाउनकै लागि भनेर केसीलाई एआईजी बनाउने बेलामा उनको राजीनामा पनि सँगसँगै मागिएको थियो, जुन राजीनामा प्रहरी महानिरीक्षक कुँवरले आफूसँगै राखेका थिए । उनले केही दिनअघि मात्रै केसीले राजीनामा दिएको सार्वजनिक गरेका थिए । 

अब एक सातापछि मात्रै मन्त्रिपरिषद् बैठकले बढुवा निर्णय गर्ने भएकाले भट्टराई छोटो समयका लागि एआईजी बन्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?