बैतडी । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा सुरु भएको छ । दशरथचन्द क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा दार्चुलाले बझाङलाई ११ रनले हरायो ।
जितका लागि पाएको एक सय ३५ रनको लक्ष्य पछ्याएको बझाङ निर्धारित २५ ओभरमा ९ विकेटको क्षतिमा एक सय २३ रन बनाउन सफल भयो । खेलाडी गजेन्द्र भण्डारीले सर्वाधिक ४२ रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन् ।
पहिला ब्याटिङ गरेको दार्चुला २४ दशमलव ४ ओभरमा एक सय ३४ रनमा समेटियो । दार्चुलाका रूपसिंह खातीले ३० र नरेन्द्र महराले १७ रन बनाए भने बझाङका सञ्जय बोहराले ३,अभिनास सिंह र भरत चन्दले समान २ विकेट हात पारे ।
प्रतियोगिताको प्रारम्भ नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरेका हुन् । त्यस अवसरमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशी,उपाध्यक्ष रमेशबहादुर बोहरा,कोषाध्यक्ष दिनेश सिंह,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दलगायतको उपस्थित थियो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सह आयोजनामा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ टोलीबिच प्रतिस्पर्धा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया