काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन् । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएपछि जोशी पक्राउ परेका हुन् ।
गत शनिबार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा सशस्त्र प्रहरी निरीक्षक महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । सशस्त्र प्रहरी निरीक्षकको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा सिनियर सशस्त्र प्रहरी निरीक्षकविरुद्ध पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।
घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थका डीआईजी लक्ष्मणबहादुर सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया