काठमाडौं । फागुन १४ गते शिवरात्री (भोलि)बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ को अग्रिम बुकिङ आक्रामक देखिएको छ ।
भोलिबाट प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम’ को सोमबार साँझबाट हलहरुमा अग्रिम बुकिङ खोलिएको थियो ।
कतिपय हलहरुमा मंगलबार (आज) दिउँसो नै हाउसफुल भइसकेका छन् । ललितपुरको लाविम महल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स, बानेश्वरको आईएनआईलगायत हलका केही शो हाउसफुल भइसकेका छन् ।
चलचित्र रिजिलको अघिल्लो दिन नै हाउसफुल देखिँदा आम दर्शकको चासो रहेको बुझ्न सकिन्छ ।
अग्रिम बुकिङ राम्रो हुँदा मल्टिप्लेक्स सिनेमा हलहरूले शो थप्न थालेका छन् । काठमाडौंमा क्यूएफएक्सले दुई शो थपिसकेको छ । शो खोल्दा काठमाडौंमा क्यूएफएक्सले २९ शो दिएकोमा अहिले ३१ शो छ ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’ मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।
विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।
अग्रिम टिकट बुकिङमा देखिएको उत्साहले आम दर्शकको मन चलचित्रले जित्ने विश्वास रहेको कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले लोकपथलाई जानकारी दिए । साथै आम दर्शकले देखाएको उत्साहले आफू मात्र नभएर सम्पूर्ण टिम नै हर्षित रहेको बताए ।
‘अग्रिम टिकट बुकिङमा देखिएको उत्साहले हामीलाई थप उत्साहित बनाएको छ । यो उत्साहले आम दर्शकको माया निरन्तर रहन्छ भन्ने अपेक्षा र विश्वास रहेको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया