काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६१औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सहभागी भई बढाइँ तथा सैनिक कला प्रदर्शनी अवलोकन गरेका छन् । सो अवसरमा नेपाली सेनाद्वारा उनको सम्मानमा राष्ट्रपति सलामी अर्पण गरिएको थियो ।
उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरे । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।
समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८१’ वार्षिक पत्रिका विमोचन गरेका हुन् । उनले ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी जगनाथ दनै र दोस्रो हुने अमलदार मित्रबहादुर राना मगरलाई पुरस्कार प्रदान गरे ।
यसअघि सेनाको हेलिकोप्टरमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८१’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाद्वारा विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।
सो अवसरमा नेपाली सेनाको तर्फबाट शान्ति मिसनमा प्रयोग गर्दै आएका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरिएको थियो । त्यस्तै सेनाको टोलीबाट सङ्गठनको प्रतीक चिह्न षटकोणभित्र त्रिशूल र डमरु आकृतिलगायतको प्रस्तुति भएको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थियो । यसैगरी उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए ।

















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया