काठमाडौं । लाल मोहम्मद हत्याका सुटरमाथि काठमाडौंको टोखामा गोली प्रहार भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य सुटरलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
लाल मोहम्मदको हत्यामा संलग्न रहेका मुख्य सुटरलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । पक्राउ पर्नेमा भारतीय नागरिक गुड्डु पटेल रहेका छन् । उनको अवस्था खतरामुक्त रहेको र हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले लोकपथलाई बताए ।

यसअघि लाल मोहम्मदको हत्याका योजनाकार भारतीय नागरिक बब्लु पासवानमाथि पर्सामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । पासवानकै बयानमा मुख्य सुटर भारतीय नागरिक रहेको खुलेको थियो । त्यसपछि खोजी गरेको प्रहरीले ती व्यक्ति टोखामा रहेको जानकारी पाएपछि पक्राउ गर्न गएको थियो ।
२०७९ असोजमा व्यवसायी लाल मोहम्मदमाथि काठमाडौंको गोठाटारमा गोली प्रहार भएको थियो । भारतीय आपराधिक समूहले मोहम्मदमाथि गोली चलाएको पाइएको थियो । घटनाका मुख्य सुटर गुड्डु पटेल रहेको जानकारी पाएको प्रहरीले घटना लगत्तैबाट गुड्डुको खोजी गरेको थियो ।

भारतमा पनि अपराधका कैयन घटनामा फरार रहेका गुड्डु नेपालमा लुकिछिपी बस्दै आएका थिए । तराईका जिल्लाहरूमा बस्ने गरेका गुड्डुमाथि तराईमै निगरानी बढाएपछि उनी काठमाडौं आएको प्रहरीको दाबी छ ।
गुड्डु काठमाडौंमा रहेको सूचना पाएपछि खोजी थालेको अपराध महाशाखाले खोजीकै क्रममा गुड्डुलाई टोखाको झोर नजिकै फेला पारेको थियो । प्रहरी देखेपछि प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि प्रहरीले गुड्डुमाथि गोली चलाएको हो ।
प्रहरीको चलाएको गोली गुड्डुको घुँडामा लागेको छ । स्थानीय अस्पतालमा प्राथमिक उपचार गराएपछि थप उपचारका लागि गुड्डुलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया