यी हुन् प्रहरीले गोली हानेका गुड्डु पटेल

लोकपथ
7.4k
Shares

काठमाडौं । लाल मोहम्मद हत्याका मुख्य सुटर गुड्डु पटेलमाथि टोखामा गोली प्रहार भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले गुड्डुमाथि गोली चलाएको हो ।

भारत स्थायी ठेगाना भएका गुड्डु पटेलले नै नेपाली व्यवसायी लाल मोहम्मदमाथि २०७९ असोजमा गोठाटारमा गोली प्रहार गरी हत्या गरिएको थियो । हत्याको अनुसन्धानमा जुटेको प्रहरीले घटनामा भारतीय आपराधिक समूहको हात रहेको पत्ता लगाएको थियो ।

मोहम्मदको हत्या लगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । गत वैशाखमा पर्सा प्रहरीले मोहम्मद हत्याका मुख्य योजनाकार बब्लु पासवानलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । बब्लुकै बयानपछि हत्याका मुख्य सुटर भारतीय नागरिक गुड्डु पटेल रहेको खुलेको थियो ।

त्यसपछि पटेलको खोजी गरेको प्रहरीले पटेल नेपालमै लुकिछिपी रहेको पत्ता लगाएको थियो । भारतमा समेत अपराधका कैयन् घटनामा संलग्न रहेका पटेल भारतमा वान्टेड रहेका कारण नेपालमा बस्दै आएका थिए ।

तराईका जिल्लाहरूमा लुकिछिपी बसिरहेका पटेलमाथि तराईमा तीव्र खोजी भएपछि उनी काठमाडौं आएको प्रहरी स्रोतले जनाएको छ ।

आइतबार पटेलको खोजीमा निस्किएको प्रहरीले उनलाई टोखामा भेटेपछि नियन्त्रणमा लिन खोजेको थियो । तर प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले गुड्डुलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीले चलाएको गोली गुड्डुको घुँडामा लागेको छ । टोखामै सामान्य उपचार गरी थप उपचारका लागि गुड्डुलाई राट्रिय ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?