गुड्डुलाई थप उपचारका लागि ट्रमा सेन्टर लगियो

लोकपथ
16.7k
Shares

काठमाडौं । लाल मोहम्मद हत्याका मुख्य सुटर गुड्डु पटेललाई थप उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । आइतबार साँझ टोखामा गोली प्रहारबाट घाइते भएका गुड्डुलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको हो ।

लाल मोहम्मद हत्याका मुख्य आरोपी र सुटर रहेका गुड्डुलाई पक्रिन प्रहरीले आइतबार साँझ टोखामा गोली चलाएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले गुड्डुलाई नियन्त्रणमा लिन क्रममा गोली प्रहार गरेको थियो ।

भारत स्थायी ठेगाना भएका गुड्डु पटेलले नै नेपाली व्यवसायी लाल मोहम्मदमाथि २०७९ असोजमा गोठाटारमा गोली प्रहार गरी हत्या गरिएको थियो । हत्याको अनुसन्धानमा जुटेको प्रहरीले घटनामा भारतीय आपराधिक समूहको हात रहेको पत्ता लगाएको थियो ।

मोहम्मदको हत्या लगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । गत वैशाखमा पर्सा प्रहरीले मोहम्मद हत्याका मुख्य योजनाकार बब्लु पासवानलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । बब्लुकै बयानपछि हत्याका मुख्य सुटर भारतीय नागरिक गुड्डु पटेल रहेको खुलेको थियो ।

त्यसपछि पटेलको खोजी गरेको प्रहरीले पटेल नेपालमै लुकिछिपी रहेको पत्ता लगाएको थियो । भारतमा समेत अपराधका कैयन् घटनामा संलग्न रहेका पटेल भारतमा वान्टेड रहेका कारण नेपालमा बस्दै आएका थिए ।

तराईका जिल्लाहरूमा लुकिछिपी बसिरहेका पटेलमाथि तराईमा तीव्र खोजी भएपछि उनी काठमाडौं आएको प्रहरी स्रोतले जनाएको छ ।

आइतबार पटेलको खोजीमा निस्किएको प्रहरीले उनलाई टोखामा भेटेपछि नियन्त्रणमा लिन खोजेको थियो । तर प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले गुड्डुलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । प्रहरीले चलाएको गोली गुड्डुको घुँडामा लागेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा आरोपितबारे बुझ्न पुगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली

देशकै राजधानीमा भारतीय आपराधिक समूह आएर गरेको हत्यामा संलग्नलाई पक्राउ गर्न नसक्दा देशकै सुरक्षा व्यवस्था र प्रहरीमाथि समेत प्रश्न उठेको थियो । तर आरोपितको खोजीमा जुटेको प्रहरीले करिब ३० महिनामा मुख्य सुटरलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?