काठमाडौं । ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले आफूमाथि कारबाही हुनसक्ने भएपछि अवकाशमा गएपछि मात्रै फैसला बुझाएका छन् । ‘जावलाखेल १८’ पीडित रहेको नाबालिग बलात्कार प्रकरणमा न्यायाधीश आचार्यले आफू अवकाशमा गएपछि मात्रै फैसलाको पूर्णपाठ उपलब्ध गराएका हुन् ।
गत माघ १३ गते फास्ट ट्र्याकबाट मुद्दाको सुनुवाइ गरी आरोपितलाई जबरजस्ती करणीको कसुरबाट सफाइ दिएका न्यायाधीश आचार्यको फैसला आलोचित बनेको थियो । त्यसलगत्तै न्याय परिषद् सचिवालयले समेत फैसलाका सम्बन्धमा सोधखोज गर्दै छानबिन सुरु गरेको थियो । परिषद्ले समयमै फैसला उपलब्ध गराउन भने पनि न्यायाधीश आचार्य भने भारत र पोखराका कार्यक्रममा व्यस्त बनी आफू अवकाशमा गएपछि मात्रै फैसलाको पूर्णपाठ बुझाएका थिए ।
न्यायाधीश आचार्य गत फागुन १६ गतेबाट ६३ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए । आफू अवकाशमा जानुभन्दा अगाडि नै फैसला दिएमा निलम्बनमा समेत पर्न सक्ने भयले उनले अवकाशमा जानुभन्दा पहिले फैसलाको पूर्णपाठ नै सार्वजनिक गरेनन् । तर जब आफू फागुन १६ गतेबाट अनिवार्य अवकाशमा गए, त्यसको दुई दिनपछि अर्थात् फागुन १८ गते मात्रै फैसलाको पूर्णपाठ उपलब्ध गराएका छन् ।
फागुन १८ गते आइतबार मात्रै फैसलाको पूर्णपाठ उपलब्ध गराएका आचार्यले फैसलाको प्रमाणीकरण मिति भने २०८१ फागुन ९ गते शुक्रबार उल्लेख गरेका छन् । यद्यपि ललितपुर जिल्ला अदालत स्रोतले भने न्यायाधीश आचार्यले फागुन १८ गते मात्रै फैसला उपलब्ध गराएको बताएको छ ।
फैसलामा के भने न्यायाधीश आचार्यले ?
१३ वर्षीया एक नाबालिगमाथि आफ्नै भिनाजुबाट भएको बलात्कारको घटनामा अदालतले प्रतिवादीलाई सफाइ दिँदा घटना हुनै नसक्ने र पत्याउन नसकिने भनी व्याख्या गरेको छ । त्यसबाहेक ढिलो जाहेरी पर्नु, जाहेरवाला निजकी पत्नीबिच अंश विवादको मुद्दा चल्नु आदि कारणबाट पीडित भनिएकीलाई हतियार बनाई जाहेरी दिएको व्याख्या गरेका छन् । फैसलामा सरकारी साक्षीले नै घटना भएकै छैन भनी उल्लेख गरिएको विषय उल्लेख गर्दै प्रमाण पुराउनु पर्ने भार वादीमा रहने भन्दै पीडितको विपक्षमा बयान दिनेलाई कसरी सरकारी साक्षी बनाइएको हो भन्ने प्रश्नसमेत उठेको छ ।
अदालतले अभियुक्तलाई जबरजस्ती करणीको कसुरबाट सफाइ दिए पनि जबरजस्ती करणीको कसुरमा दोषी ठहर गरेको थियो । न्यायाधीश आचार्यकै फैसलामा केही विरोधाभास देखिन्छ । फैसलाको एक खण्डमा अभियुक्तले जबरजस्ती करणी गर्न सक्ने सम्भावना नरहेको र पत्याउनै नसक्ने भन्दै गर्दा फैसलाकै अर्को खण्डमा भने यौन दुव्र्यवहारसम्म भएको हुनसक्ने आशंका गर्दै दोषी ठहर गरिएको छ । फैसलामै घटनाबारे थाहा पाउने शोभा बानियाँको अनुसन्धानको बयान र बकपत्र फरक रहेको उल्लेख गरिएको छ । तर यथार्थमा शोभा बानियाँको अनुसन्धानको बयान र बकपत्र एकै मिलानको रहेको देखिन्छ ।
फैसलाको केही अंश यस्तो छ
फैसलाको प्रकरण ३४ मा यस्तो उल्लेख छ :
‘वारदात भएको भनिएको फ्ल्याटमा एउटा बैठक कोठा, एउटा कोठामा प्रतिवादी र निजको पत्नी परिवर्तित नाम जावलाखेल १८ (ग) सुत्ने गरेको र अर्को कोठामा पाहुना सुत्ने कोठा रहेको र सोही पाहुना सुत्ने कोठामा पीडित भनिएकी परिवर्तित नाम जावलाखेल १८ सुतेको भन्ने घटनास्थल मुचुल्काबाट देखिन्छ । उक्त फ्ल्याटमा प्रतिवादी, निज प्रतिवादीको पत्नी अर्थात् पीडितको दिदी समेत बसेको अवस्थामा पीडितको दिदी अर्थात् प्रतिवादीको पत्नीले आफ्नो पतिलाई आफू सुत्ने बिस्तरामा नसुती आफ्नो बहिनी पीडित परिवर्तित नाम ०८१।०८२ जावलाखेल १८ सँग गएर सुत भन्नु र आफ्नो बहिनीलाई पनि प्रतिवादी भिनाजु परिवर्तित नाम ०८१।०८२ जावलाखेल १८(घ) सुतेको कोठा बिस्तरामा सँगै गएर सुत भनेर भन्छन् भनेर कल्पना समेत गर्न नसकिने विषय हो । वादी पक्षकै साक्षीको रूपमा रहेका पीडितको दिदीले समेत सो कुरा पूर्ण इन्कार गरेको अवस्था छ ।’
त्यसैगरी फैसलाको प्रकरण ३५ मा जाहेरवालाले पीडितलाई हतियार बनाई जाहेरी दरखास्त दिन लगाएको न्यायाधीशले आफ्नो फैसलामा व्याख्या गरेका छन् ।
फैसलाको प्रकरण ३५ मा भनिएको छ,
‘… सो समयमा पीडितले घटनाको सम्बन्धमा जाहेरवाला आफ्ना बुबालाई भनेको र वारदात भएको देखिने तथ्य कतै पाइँदैन । मिसिल संलग्न तथ्यबाट पनि जबरजस्ती करणीको वारदात भएको तथ्य स्थापित भएको देखिँदैन । जाहेरवाला परिवर्तित नाम ०८१।०८२ जावलाखेल १८(क) को पत्नी अर्थात् पीडितको आमासँग जाहेरवालाको सम्बन्ध बिग्रिएर निज परिवर्तित नाम ०८१।०८२ जावलाखेल १८ (ग) ले जाहेरवाला उपर काठमाडौं जिल्ला अदालतमा अंश तथा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि मात्रै पीडित बालिका जाहेरवालासँग बेलायत बसेको र पीडितको आमा तथा परिवारका अन्य सदस्यसँग सम्पर्क हुन नसक्ने स्थिति भएपछि मात्रै जाहेरवालाले पीडितलाई हतियार बनाई प्रस्तुत मुद्दाको ढिलो जाहेरी परी सोही आधारमा अनुसन्धान र अभियोजन भई पेस भएको देखिन्छ ।’
न्यायाधीशले आफ्नो फैसलामै पीडितलाई हतियार बनाई ‘आफ्टर थट’का रूपमा जाहेरी दिन लगाएका उल्लेख गरेका छन् ।
त्यसै गरी फैसलाको प्रकरण ३६ मा पीडितको बकपत्र मालाकाररुपमा नमिलेको भन्दै घटना भएको मान्न नसकिने फैसलामा उल्लेख छ
न्यायाधीशले आफ्नो फैसलामै पीडितलाई हतियार बनाई ‘आफ्टर थट’का रूपमा जाहेरी दिन लगाएका उल्लेख गरेका छन् ।
त्यसै गरी फैसलाको प्रकरण ३६ मा पीडितको बकपत्र मालाकाररुपमा नमिलेको भन्दै घटना भएको मान्न नसकिने फैसलामा उल्लेख छ ।
फैसलाको प्रकरण ३६ का केही अंश यस्ता छन्,
‘ …. पीडितले अदालतमा उपस्थित भई गरेको बकपत्र महत्वपूर्ण प्रमाण भए पनि सो बकपत्र निज पीडित परिवर्तित नाम ०८१।०८२ जावलाखेल १८ को मौकाको भनाइ र निजको स्वास्थ्य परीक्षण प्रतिवेदनका बिचमा समान्जस्यता भई निज पीडितले मौकाको कागजमा लेखाएको ब्यहोरासँग मेल खाएको हुनु पर्छ । प्रस्तुत मुद्दामा पीडितले प्रतिवादी भिनाजुले आफ्नो यौनाङ्गमा औला छिराएको भनी मौकामा कागज गरेता पनि अदालतमा बकपत्र गर्दा प्रतिवादीले न्यु एयरको बेलामा ट्याक्सीमा फिङ्गरिङ गरेको, ढोका बन्द गरेर पटक पटक जबरजस्ती करणी गरेको, रक्तस्राव समेत भएको एक हप्तासम्म पेन हुन्थ्यो भनी मौकाको कागजमा खुलाएको विवरण भन्दा धेरै फरक पर्ने गरी विरोधाभासपूर्ण ब्यहोरा लेखाएको र सो ब्यहोरा स्वास्थ्य परीक्षण प्रतिवेदनबाट समेत समर्थित नभएबाट उक्त बकपत्रलाई हुबहु प्रमाणको रूपमा लिन मिल्ने अवस्था देखिएन । साथै जाहेरी दरखास्त र जाहेरवालाले अदालतमा गरेको बकपत्रलाई मात्र कसुर प्रमाणित गर्ने यथेष्ट प्रमाणको रूपमा लिन सकिने अवस्था हुँदैन ।’
सोही प्रकरणमा न्यायाधीशले नजिर ल्याउँदै अभियुक्तलाई सफाइ दिइएको आधार पुष्टि गर्न खोजेका छन् । फैसलाको अगाडि भनिएको छ–
‘… जबरजस्ती करणीलगायतका सामान्यतया प्रत्यक्षदर्शी साक्षीको अभाव रहने प्रकृतिको मुद्दामा कुनै पनि व्यक्तिलाई आरोप लगाई दिए पुग्ने र अभियुक्तले न्याय पाउन नसक्ने कहालीलाग्दो अवस्था आउनेतर्फ न्यायकर्ताले विचार गर्नु पर्ने देखिन्छ भनी अभिमन्यु अहिर विरुद्ध नेपाल सरकार भएको दायरी नम्बर ०७८–CR–०२०० को जबरजस्ती करणी मुद्दामा मिति २०८०।१२।०७ को निर्णयबाट प्रतिपादन भएको अवस्थासमेत प्रस्तुत मुद्दाको रोहमा उल्लेखित सिद्धान्त विचारणीय र मननीय देखिएको छ ।’
सफाइ दिने आधारको प्रकरण ३८ मा न्यायाधीश आचार्यले शंकारहित ढङ्गबाट कसुर ठहर गर्ने आधार नरहेको भन्दै सफाइ दिने कुरा उल्लेख गरेका छन् ।
फैसलामा भनिएको छ,‘ प्रतिवादीले मौकामा र अदालतमा पूर्णतः इन्कार गरेको र सो कुरा निजको साक्षीको बकपत्रले पुष्टि गरेको, पीडित भनिएकी बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको भनाइ समेतबाट जबरजस्ती करणीको तथ्य पुष्टि नभएको, वारदात भएको भनिएको अपार्टमेन्टमा सँगै अर्को कोठामा सुतेको, पीडित बालिकाको दिदी नाता पर्ने व्यक्तिलाई घटनाको बारेमा कुनै पनि जानकारी नभएको, प्रतिवादीले पीडितलाई जबरजस्ती करणी नगरेको भनी बकपत्र समेत गरेको, पीडितको आमाले समेत घटना नभएको भनी मौकामा र अदालतमा बकपत्र गरेको, पीडितसँगै बस्ने पीडितको अर्को दिदी परिवर्तित नाम जावलाखेल १८(ङ) पनि पीडितको भनाइ झुटा हो भनी बकपत्र गरेको, पीडित भनिएको बालिकाले मौकाको कागजमा उल्लेख भएको ब्यहोरा र अदालतमा बकपत्र गर्दा लेखाएको ब्यहोरा विरोधाभास देखिएको, घटना घटेको भनिएको समयपश्चात् जाहेरवाला नेपालमा आएको बखत प्रतिवादी उपर कुनै उजुरी नगरी करिब ११ महिना १५ दिन पश्चात् मात्र प्रतिवादी उपर जबरजस्ती करणी गरेको भनी जाहेरी दिएको र निजले ढिलो गरी जाहेरी दिनुको युक्तियुक्त कारण पनि उल्लेख गर्न नसकेको, जाहेरी दरखास्त र पीडितको कागजमा उल्लेख भएको ब्यहोरा फरक रहेको अवस्थामा माथि उल्लेखित प्रतिपादित सिद्धान्त समेतलाई दृष्टिगत गर्दा जाहेरवालाको पत्नीसँगको सम्बन्ध बिग्रिएपछि निज जाहेरवाला उपर अंश सहितको सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको र जाहेरवालाले पीडितको आमालाई तेरो छोरी–ज्वाइँलाई के हालत बनाई दिन्छु हेर्दै जानु भनी धम्की दिएपश्चात् परेको सन्देहपूर्ण जाहेरी र पीडितको विरोधाभासपूर्ण भनाइलाई मात्रै आधार मानी प्रतिवादीलाई कसुरदार ठहर गर्न मिल्ने देखिएन । मिसिल संलग्न माथि उल्लेखित तथ्यबाट प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको कसुर पुष्टि नभएको हुँदा प्रतिवादी परिवर्तित नाम ०८१।०८२ जावलाखेल १८(घ) ले जबरजस्ती करणीतर्फको अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ ।’
यसरी ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले नाबालिग बलात्कार प्रकरणमा आरोपित भारतीय नागरिकलाई जबरजस्ती करणीको कसुरबाट सफाइ दिएका छन् ।
बलात्कारलाई बाल यौन दुरुपयोगमा परिणत गर्ने फैसलामा भनिएको छ,
‘… प्रस्तुत मुद्दाको विषयवस्तुलाई हेर्दा पनि पीडित र प्रतिवादी साली/भिनाजु नाताका भई वारदात भएको दिन एउटै फ्ल्याटमा अलग अलग कोठाका बिस्तरामा रहेको देखिएको, अर्को दिन पीडित परिवर्तित नाम ०८१।०८२ जावलाखेल १८ नयाँ वर्ष मनाउन प्रतिवादी जावलाखेल १८(घ) भिनाजुसँग गएको देखिएको, प्रतिवादी आफ्नो पत्नीसँग सँगै बसेको अवस्थामा पीडित परिवर्तित नाम ०८१।०८२ जावलाखेल १८ लाई जबरजस्ती करणीको कार्य गरेको नभए पनि निज प्रतिवादीले पीडित परिवर्तित नाम ०८१।०८२ जावलाखेल १८ सालीसँग कुराकानी गफगाफ गर्ने गरेको र सोही क्रममा पीडितलाई जिस्क्याउने, छुने चलाउने जस्ता क्रियाकलाप गर्न सक्ने विद्यमान रहेको पाइयो ।’
‘… प्रतिवादीले जबरजस्ती करणीको कसुर गरेकोमा इन्कार रहे पनि पीडितको संवेदनशील अङ्गमा सुमसुम्याएको भन्ने जाहेरी दरखास्त रहेको र जाहेरवालाले अदालतमा बकपत्र गर्दा तथा पीडितले मौकामा कागज गर्दा प्रतिवादी भिनाजुले मसाज गरिदिने बहानामा घाटी छाती छुँदै स्तनमा चलाउने गरेको भनी कागज गरेको, मौकामा कागज गर्ने शोभा बानियाले तथा शिखा गुरुङले प्रतिवादीले पीडित बालिकाको शरीरका संवेदनशील अंग छुने चलाउने असल्ट गर्ने गर्नु हुन्छ भनी बताएको भन्ने ब्यहोरा उल्लेख भएको समेतका मिसिल संलग्न कागजातबाट प्रतिवादीले पीडित बालिकासँग यौनजन्य अस्वाभाविक व्यवहार गरी मुलुकी अपराध संहिता, २०७४ को दफा दफा २२५(२) मा उल्लेखित बालयौन दुरुपयोगसम्मको कसुर गरेको ठहर्छ …।’
यसरी ‘जावलाखेल १८’ पीडित रहेको यस मुद्दामा आफू अवकाशमा जाँदाजाँदै न्यायाधीश आचार्यले हतार हतारमा प्रतिवादीलाई सफाइ दिन मुद्दाको अंग नै नपुराई फैसला मात्रे गरेका छैनन्
यसरी ‘जावलाखेल १८’ पीडित रहेको यस मुद्दामा आफू अवकाशमा जाँदाजाँदै न्यायाधीश आचार्यले हतार हतारमा प्रतिवादीलाई सफाइ दिन मुद्दाको अंग नै नपुराई फैसला मात्रे गरेका छैनन्, प्रतिवादीलाई सफाइ दिई थुनामा रहेको दिनलाई मात्रै गणना गरी बालयौन दुरुपयोगमा कसुर ठहर गरेका छन् ।
तर यिनै न्यायाधीश आचार्यले सोही अदालतमा यसै वर्ष गरेको अर्को फैसलामा भने उमेर पुगेका युवा र युवतीबिच होटेलमा भएको यौन सम्बन्धलाई समेत जबरजस्ती करणी ठहर गरी प्रतिवादीलाई जेल पठाएका छन् । न्यायाधीश ऋषिराम आचार्यले गरेका विवादित फैसलाका सम्बन्धमा लोकपथले गरेको समाचार श्रृङ्खला यहाँ पढ्न सकिने छ ।
हेर्नुहोस्, लोकपथको समाचार श्रृङ्खला
उमेर पुगेका युवायुवतीबिच होटेलमा भएको सम्बन्ध बलात्कार ठहर, नाबालिगमाथिको बलात्कारमा सफाइ !
बलात्कारका आरोपित बचाउन न्यायाधीशलाई नै हतार !
पक्षले ‘साक्षी बुझ्नै छ श्रीमान्’ भने- न्यायाधीशले झुक्काएर फैसला सुनाए
बलात्कृत बालिकाकी आमाले शिक्षिकालाई फोन गर्दै भनिन्, ‘हाम्रो पक्ष (आरोपित)को कुरा पनि सुनिदिनोस्’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया