भारत सरकारले राप्ती आँखा अस्पतालको अपरेसन थिएटर बनाइदिने

लोकपथ
133
Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको राप्ती आँखा अस्पतालमा अपरेशन थिएटर भवन निर्माण कार्यको आज एक कार्यक्रमबिच शिलान्यास गरिएको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माण हुने अपरेशन थियटरको मंगलबार शिलान्यास गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर श्री टीकाराम खड्का र काठमाडौँस्थित भारतीय दूतावासका प्रथम सचिव श्री वशिष्ट नन्दनले संयुक्त रूपमा अपरेशन थियटरको शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मीहरू तथा समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति थियो ।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत निर्माण हुने

राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणका लागि भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ३३ लाख लागतमा सो परियोजना अघि बढाइएको हो । नेपाल-भारत विकास सहकार्य अन्तर्गत भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको रकमबाट भवनसहितको अपरेशन थिएटर र भौतिक संरचनाहरू निर्माण हुन लागेको हो ।

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत सञ्चालनमा रहेको छ, जसलाई तुलसीपुर उपमहानगरपालिका मार्फत कार्यान्वयन गरिने जनाइएको छ ।

स्वास्थ्य सेवामा ठूलो योगदान : मेयर खड्का

शिलान्यास समारोहलाई सम्बोधन गर्दै मेयर खड्काले भारत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका छन् । खड्काले निर्माणाधीन अपरेशन थिएटर भवनले आँखासम्बन्धी सेवा अझ प्रभावकारी बनाउन सहयोग पुग्ने र लुम्बिनी प्रदेशकै स्वास्थ्य सेवाको स्तरोन्नतिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल-भारत विकास सहकार्यका उपलब्धिहरू

सन् २००३ यता नेपालभरि भारत सरकारको आर्थिक सहयोगमा ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) सञ्चालनमा आएका छन्, जसमध्ये ४९५ परियोजना पूरा भइसकेका छन् । लुम्बिनी प्रदेशमा मात्रै यसका ६२ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

त्यस्तै, भारत सरकारले नेपालभरका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १ हजार ९ थान एम्बुलेन्स र ३ सय थान स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । जसमध्ये लुम्बिनी प्रदेशमा मात्र १६४ एम्बुलेन्स र ४३ स्कूल बस उपलब्ध गराइएको दूतावासले जनाएको छ ।

भारतीय राजदूतावासले दाङ जिल्लामा मात्रै १९ थान एम्बुलेन्स र ४ थान स्कूल बस प्रदान गरेको बताएको छ, जसमा राप्ती आँखा अस्पताललाई उपलब्ध गराइएको एम्बुलेन्स पनि समावेश छ ।

नेपाल–भारत सहकार्य : मित्रताको प्रतीक

नजिकका छिमेकी भएका कारण नेपाल र भारतबिच विकास सहकार्य अझ सुदृढ हुँदै गएको दूतावासको दाबी छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (HICDP) ले शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत सेवाहरूमा पूर्वाधार निर्माण गर्दै नेपाल सरकारको विकास लक्ष्यमा भारत सरकारले सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?