माओवादीलाई ०६४ कै शक्तिमा फर्काउने प्रचण्डको चाहना पूरा होला ? (भिडियोसहित)

जब जब पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अप्ठारो पर्छ तब तब उनी जनता सम्झिन्छन् । उनी जहाँ पुग्छन्, त्यस्तै बनिदिन्छन्, जनताले जे खान्छन् त्यही खाइदिन्छन् । जुन समुदायमा पुग्छन्, त्यहाँ त्यही समुदायको पहिचानका कुरा गरिदिन्छन् । जसलाई भेट्छन् उसैलाई प्रचण्ड आफ्नै मान्छे रहेछन् भन्ने जस्तो बनाइदिन्छन् ।

समय ठिकै चल्दै थियो, सत्ता आफ्नै हातमा थियो । तर सधैँ अरूको संख्याको हिसाब मिलाएर मात्रै आफूमा शक्ति सञ्चय भएन । सत्ता ढल्यो । जब असारमा संख्यात्मक तागत नपुगेर प्रचण्ड सत्ताबाट बाहिरिए, फेरि प्रचण्ड संख्याको जुगाडका लागि दौडधुपमा छन् ।

असार अन्तिममा सत्ताबाट बाहिरिएपछि माओवादी नै यतिबेला फुर्सदमा छ । त्यही फुर्सदको सदुपयोगमा माओवादी अहिले गाउँ गाउँमा छ, प्रचण्ड बस्ती बस्तीमा छन् । सत्ताबाट बाहिरिनुपरेको रन्कोमा पालिका पालिकाबाट सरकारलाई खबरदारी गरिरहेको माओवादी अहिले जनतासँग जोडिने प्रयत्नमा छ ।

गत फागुन १२ गतेबाट माओवादीले ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’ सुरु गर्‍यो । त्यसैअन्तर्गत कर्णाली प्रदेश बाहेक अन्य ६ प्रदेशका २१ जिल्ला पुग्ने माओवादीको लक्ष्य छ । झापाको कचनकवलबाट यात्रा सुरु गरेको माओवादी विभिन्न जिल्ला घुमेर कञ्चनपुरको महेन्द्रनगरसम्म पुग्दैछ । फागुन १२ बाट सुरु गरेको यात्रा चैत ७ सम्म रहने माओवादीले त्यसबीचमा आफूलाई जनतासँग पूर्णरुपमा अन्तर्घुलन गर्ने चेष्टामा देखिन्छ ।

२०८१ सालमा आगामी ०८४ सालका लागि ०६४ साल फर्काउन प्रचण्ड आफैँ मैदानमा उत्रिएका छन् । नेपालकै होचो स्थान मानिने झापाको कचनकवलबाट सुरु गरेको यात्राले आफ्नो शिर उँचो बनाउने यत्न र प्रयत्नमा माओवादी देखिन्छ ।

संसदीय राजनीतिमा उतारचढाव भोगेको माओवादी पुनः ०६४ कै शक्तिमा फर्किन चाहन्छ । त्यसबेला जंगलबाट आएकोले संसदीय अभ्यास र राज्य सञ्चालनको ज्ञान नहुँदा असफल माओवादी अहिले संसदीय अभ्यासमा पोख्त छ । त्यसबेला संख्या थियो, ज्ञान थिएन, अहिले ज्ञान छ तर संख्या र शक्ति छैन । आफैँसँग जनयुद्धमा हिँडेकाहरू अहिले प्रचण्ड र माओवादीसँग छैनन्, जसकारण गर या मरको अवस्थामा रहेको माओवादी पुनः जनता फकाउन गाउँ गाउँ पुगेको छ, बस्ती बस्ती पसेको छ ।

०६४ मा प्रचण्ड बहुमत पाए पनि आफ्नै शक्तिले थिचिएर निसास्सिएको माओवादी त्यसयता पटक पटक सरकारको नेतृत्वमा र विभिन्न समीकरणका नाममा बन्ने सरकारमा सामेल भने हुँदै आइरहेको छ ।

न हामीले अवसर पाएनौँ भन्न सक्ने ल्याकत, न हामीले काम गर्न सकेनौँ भन्ने नैतिकता र आत्मसमीक्षा नै । यही दोमनपूर्ण मन बोकेर तराई मधेस घुमिरहेका प्रचण्डलाई जनताले भने साथ दिइरहेका छन् ।

प्रचण्ड बिहानै उठ्छन्, दायाँबायाँ आफ्ना शीर्ष नेताहरूलाई लगाउँछन्, अघिपछि सुरक्षाकर्मी र कार्यकर्ताहरू लगाएर उनी हिँड्छन्, दौडिन्छन् । त्यही मौकामा उनी विभिन्न आयोजनाहरूको निरीक्षणसम्म गर्न भ्याइरहेका हुन्छन् ।

मर्निङवाकमा जहाँ रोकिन्छन्, त्यहाँ किसान, मजदुर, शहीद परिवारदेखि आम नागरिकलाई भेट्छन्, कुरा सुन्छन् । उनीहरुको दुःख सुनिसकेपछि प्रचण्डले आफ्ना दुःखहरु पनि सुनाउँछन् । जनताका दुःख गाँस, बास कपासदेखि रोजगारी डुबानदेखि हिंसासम्म हुन्छन् । यता प्रचण्डको दुःख उही संख्या नपुग्दा सत्ता भएन, सत्ता नहुँदा जनताको घाउमा मल्हम लगाउन सकिएन । आफ्नै घर आँगनमा प्रचण्ड पुग्दा जनता दंग छन्, झन समस्या सुनाउन पाउँदा भाग्यमानी ठान्छन् । अझ प्रचण्ड स्वयंले समस्या सुल्झाउने बचन दिएपछि मन फुरुङ्ग पार्छन् । तर साथमै प्रचण्डको एउटा सर्त हुन्छ– हामीलाई विश्वास गरिदिनुस् !

गत निर्वाचनमा तेस्रो बने पनि आफूसँग भएको ‘म्याजिक नम्बर’ले पाँचै वर्ष सत्तामा हालिमुहाली गर्छु भन्दै दुई ठूला दललाई अचम्मित पार्ने उनै प्रचण्ड अहिले आफैँ अचम्मित छन् । आफूसँग थोरै संख्या हुँदा जति चलाख बुद्धि भए पनि त्यसले धेरै समय काम नगर्ने रहेछ भन्ने बुझेका प्रचण्डको दौडधुप त्यही संख्या टिप्ने कसरत हो । सत्तामा हुँदा उल्लेख्य प्रगति गर्न नसके पनि उल्कै विवादमा पर्ने काम नगरेका कारण पनि प्रचण्डलाई अहिले भन्न सजिलो छ, काम गर्दैै थिएँ, निकाल्दिए ।

प्रचण्डको भाषणैपिच्छे दलाल र बिचौलिया शब्द फुस्किहाल्छ । म सक्षम छु भन्ने भन्दा पनि अरू असक्षम छन् भन्ने कुरामा बढी जोड दिने प्रचण्ड तराई मधेसका जनतासँग क्षमा माग्छन्, आत्मालोचना गर्छन् । अन्तिममा संख्या पुर्‍याएर सरकार चलाउन साथ खोज्छन् । भन्छन्– मलाई संख्या चाहियो, तपाईंहरुको साथ चाहियो । अहिले संसदीय इतिहासमा नै अचम्मको सरकार बनेको छ ।

संसद्को पहिलो र दोस्रो ठूलो दल मिलेको गठबन्धन सरकार छ । संख्या र शक्तिका हिसाबले काम गर्न नसकिरहेको सरकारमाथि खनिन प्रचण्डलाई सजिलो छ ।

गाउँगाउँ बस्तीबस्तीसम्म पुगेर जनताको कुरा सुन्दै, बच्चनले मल्हम लगाउन सजिलो छ । तर पटक पटक सरकारको नेतृत्वमा हुँदा तराईका डुबेका बस्ती, बढिरहेको अराजकता, पहाडका पुरिएका र जनयुद्धमा मारिएकाहरूको समस्यामा राज्यबाट व्यवहारको मल्हम लगाउन चुकेका प्रचण्ड पनि आलोचनाबाट टाढा रहने पात्र भने होइनन् ।

अहिले चुनाव होइन, चुनावै भए पनि प्रचण्ड त्यहाँका उम्मेदवार पनि होइनन् । तर जनताले प्रचण्डसँग बस्तीभित्र शहीद पार्कदेखि खेल मैदान चाहिरहेका छन्, खानेपानी खोजिरहेका छन्, समयमा नै बीउ मल खोजिरहेका छन्, बर्खामा डुबान समस्या समाधानको विकल्प खोजिरहेका छन् । त्यो भन्दा ठूलो माटोमा विलीन भएका शहीदहरूको सपना खोजिरहेका छन् । सत्ता र शक्तिका लागि संख्याको सिलो खोजिरहेको माओवादी र प्रचण्डले बस्ती बस्ती पुगेर निर्वाचनपछि पहिलो पार्टी बनाएर ती सबै समस्या समाधान गर्ने बच्चन दिइरहेका छन् । यदि प्रचण्डको सपना अनुसार शक्ति प्राप्त भए केही प्रतिशत बाचा पूरा होला । तर, संख्या पुगेन भने फेरि उही उदारो बाचा ? अहिले नै आँकलन गर्न हतारो होला ।

स्वभावैले विपक्षीको काम जनताका समस्याबारे सरकारलाई सुसूचित गर्नु, खबरदारी गर्नु र रचनात्मक रूपमा सहयोग गर्नु हो । सत्ताबाट हटेपछि माओवादी त्यसैगरी जनतामा छ । विपक्षी दलका अझ भनौँ संसद्को तेस्रो शक्तिको मुख्य नेता आफैँ गाउँ गाउँ बस्ती बस्ती पसेका छन् । जनताका कुरा सुनेका छन्, बस्ती बस्तीका वर्ग विशेष, जात विशेष, समुदाय विशेषका समस्याबारे जानकारी नोटिसमा राखेका छन् । २०८१ सालमा नै ०८४ का लागि ०६४ को शक्ति आर्जन मात्रै यो यत्न र प्रयत्न हो भने माओवादीको जागरण केवल आत्मसन्तुष्टिका लागि मात्रै नहोला पनि भन्न सकिन्न ।

प्रचण्ड मधेसका भित्री बस्तीमा जहाँ पुग्छन्, त्यहाँ आफ्नै मान्छे, अझ आफ्नै वर्गको मान्छे भेटेँ भनेर मक्ख पारिरहेका हुन्छन् । ती कोही शहीद परिवारका, कोही पिछडिएका वर्ग र विभिन्न समुदाय प्रचण्डसँग आफ्ना कुरा राख्न लालायित देखिन्छ । उनीहरू प्रचण्डसँग भनिरहेका छन्, माओवादीले आफ्नो एजेन्डा छोडेका कारण अरूले त्यसलाई आफ्नो एजेन्डा बनायो । प्रचण्ड सुन्छन्, मुसुक्क हाँस्छन् र धन्यवाद दिन्छन् । वरिपरि रहेका माओवादीका अन्य नेताहरूलाई लाग्दो हो, प्रचण्डको मुस्कान ०८४ मा ०६४ फर्काउने शुभ संकेत हो । प्रचण्ड जहाँ पुग्छन् त्यहाँ सबै उमेर समूहको नागरिकको उपस्थिति हुन्छ । जनताको भीड देख्दा, कुरा सुन्दा लाग्छ, सभामा आकर्षण देख्दा माओवादीका लागि प्रचण्डको मुस्कान शुभ संकेत नै हो कि झैँ पनि लाग्न सक्छ । तर कथा अर्कै छ, व्यथा अर्कै छ । अरूको कुरा छोडौँ, प्रचण्ड हेर्न आउने बहुसंख्यक युवा जमात ०८४ को निर्वाचनमा मतदान गर्ने बेलासम्म देशमै रहला ?

माओवादीले ठूलो पार्टी बनेपछि रोजगारी सिर्जना गरेर रोजगारी दिने प्रचण्डको रुमानी सपनामा ऊ अल्झिएर बस्ला ? बस्ती बस्तीमा सपना बाँडिरहेका प्रचण्डले ०८४ मा शक्ति आर्जन गर्न सकेनन् भने ती सपनाहरू त्यसैगरी विलखबन्दमा नै पर्ने हुन् ? यो प्रश्न केवल माओवादीका अध्यक्ष प्रचण्डलाई मात्र होइन गाउँ गाउँमा पुगेर अर्को निर्वाचनका लागि सपना बाँड्नेहरुका लागि हो ।

नेता कस्तो हुनुपर्छ, तपसिलका कुरा छोड्ने हो भने अहिलेका प्रचण्ड जस्तो हुनुपर्छ । जनताको घरघरमा पुग्छन्, कार्यकर्ता त्यो भन्दा सकेसम्म शहीद परिवारकै घरमा खाना खान्छन्, आरामदायिता खोज्दैनन्, जनताकै घर आँगनमा मर्निङ वाक गर्छन् । कहिले केराको पात, कहिले टपरी नभए हातमै दिए पनि खाएर हिँडिदिन्छन् । जनताका कुरा सुन्छन्, जनतासँगै रमाउँछन्, जहाँ पुग्छन् त्यही पहिरन लगाइदिन्छन् । जनता नेताहरूबाट अझ कम्युनिस्ट पार्टीका नेताहरूबाट यस्तै व्यवहार र आनीबानी चाहन्छन् । तर यो बानी सत्ता र शक्ति भन्दा बाहिर हुँदा मात्रै भइदिन्छ । सत्ता र शक्ति हुँदा महँगा रेस्टुरेन्ट र तारे होटेलमा बास हुने नेताहरू सधैँ आफ्नै झुपडीमा आइदिउन् भन्ने सोचिरहेका हुन्छन् ।

०६४ मा माओवादीको त्यो लहर डर र त्रासका कारण मात्र आएको थिएन, त्यहाँ थुप्रै आशाहरू र थिए केही विश्वासहरू पनि ।

त्यसमा समुदाय र जाति विशेषको पहिचानको कुराले पनि ठूलो काम गरेको थियो । जुन समुदायमा पुग्यो त्यही समुदायअनुसारको एकल जातीय राज्यका कुराले पनि भोट प्राप्तिका लागि त्यसबेला मात्र होइन अहिले पनि काम गरिरहेको छ । अहिलेको माओवादीको जागरण अभियान पनि पहिचान विशेषको कुरा केन्द्रविन्दुमा देखिन्छ । अहिले पनि प्रचण्ड जुन बस्तीमा पुग्छन्, त्यही समुदायको अधिकारका लागि आफूहरूकै देनका कारण संविधानमा अधिकार सुनिश्चित भएको भनिदिन्छन् । उनी त्यति मात्र भन्दैनन्, अझै ती समुदायको हक अधिकारलाई थप बलशाली बनाउन संविधान संशोधन नै गरेर अधिकार स्थापित माओवादीले मात्रै गर्न सक्ने बताइरहेका छन् । प्रचण्ड र माओवादी नेताहरू अधिकारका कुरा गरेर भाषण गर्छन्, जनता दंग पर्छन्, ताली पिट्छन् ।

माथि नै उल्लेख गरियो, तपसिलका कुरा छाड्दा नेता कस्तो हुनुपर्छ अहिलेका प्रचण्ड जस्तो हुनुपर्छ । पार्टी हुनुपर्छ अहिलेको माओवादी जस्तो हुनुपर्छ । जो जनतासँग छ, लोभ लालच भन्दा माथि उठेर तडकभडक भन्दा पर बसेर सरल छ । तर केवल त्यो सत्ता र शक्ति भन्दा बाहिर हुँदा मात्रै देखिने चरित्र हुनुभएन । गाउँ गाउँ पुगेर प्रचण्ड भनिरहेका छन्, यो सरकार जति धेरै समयसम्म रह्यो त्यही माओवादीलाई फाइदा हुन्छ भनेर । अझ थपिरहेका हुन्छन्, हामी सरकारको काममा झिँजो हाल्दैनौँ भनेर पनि । तर उनै प्रचण्डले ‘राजनीति सम्भावनाहरूको खेल हो’ भन्ने गरेको जस्तै सरकारमा पुनः माओवादी जान सक्ने सम्भावना बढिदियो भने, ०८४ कुर्नै पर्दैन, ०८१ मा नै सरकारको नेतृत्व गर्ने वा सामेल हुने अवस्था आइदियो भने ? नेपालको राजनीतिक चरित्रले त्यो नहोला भन्न पनि सकिँदैन । तर अहिले नै त्यसै होला पनि भनिहाल्न हतार होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?