काठमाडौं । राइसकुकर बनाउन जाँदा चिनजान भएका मिस्त्रीलाई हनी ट्र्यापमा फसाउने युवती धरौटीमा रिहा भएकी छिन् । हनी ट्र्यापको आरोपमा पक्राउ परेकी चितवनकी २८ वर्षीय अस्मिता आचार्य ४५ हजार धरौटीमा रिहा भएकी हुन् ।
चितवनको रत्ननगर नगरपालिका–८ घर स्थायी ठेगाना भई काठमाडौंको कुलेश्वरमा बस्ने अस्मिता आचार्यलाई आपराधिक लाभ लिएको कसुरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । पछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भई आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएकामा सोमबार न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले आचार्यलाई ४५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । अदालतको आदेश लगत्तै आचार्य धरौटी रकम बुझाएर रिहा भएकी छिन् ।
भएको के थियो ?
काठमाडौंको कुलेश्वरमा सफी आलमको इलेक्ट्रिक मर्मत पसल थियो । त्यहीँ आफ्नो राइसकुकर बनाउन भन्दै चितवन रत्ननगरकी २८ वर्षीय अस्मिता आचार्य बेलाबेलामा पुग्थिन् । चिनजानपछि नजिक भएकी अस्मिताले पछि आलमलाई जबरजस्ती करणीमा फसाइदिने भन्दै १० लाख दिन भनेकी थिइन् ।
पहिलो आलमसँग नजिक भएकी अस्मिताले पछि आलमसँग केही रकम पनि लिएको र आलमसँग अलि धेरै रकम हुनसक्छ भनी ब्ल्याकमेलिङ गरेको पाइएको छ ।
आलमले प्रहरीमा दिएको जाहेरी अनुसार इलेक्ट्रिक पसलमा आउने क्रममा चिनजान र घनिष्ठता बढेको र विभिन्न रेस्टुरेन्ट तथा होटेलमा खाजा खान समेत जाने गरेको र कतिपय रेस्टुरेन्टहरूमा बसी मदिरासमेत खाएको उल्लेख छ ।
२०८१ माघ २ गते दिउँसो मदिरा समेत सेवन गरी सिनामंगलको सुप्रिम होटेलमा बस्ने भन्दै पुगेका थिए । त्यहाँबाट निस्केपछि अस्मिताले आफूसँग प्रमाण रहेको र १० लाख रुपैयाँ नदिए बलात्कारमा फसाइदिने भन्दै धम्की दिएकी थिइन् । अस्मिताले बारम्बार धम्की दिएपछि पीडित पुरुषले प्रहरीमा जाहेरी दिई अस्मितालाई ब्ल्याकमेलिङ गरी लिएको ३ लाख रुपैयाँको चेकसमेत पक्राउ गरेको थियो ।
अस्मिताले भनिन्, ‘१० लाख दिने कि जेल जाने ?’
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानमा पीडितले पेस गरेको म्यासेजमा अस्मिताले १० लाख रुपैयाँ दिने कि बलात्कार जेल जाने भनेर बार्गेनिङ गरेको पाइएको छ । अनुसन्धानको क्रममा अस्मिताले दिएको बयान यस्तो छ :
‘…आइतबारसम्म म केश नै लड्दिन्छु, कति दिनसम्म दिनुहुँदो रहिनछ, यति कुरा याद राख्नु, त्यति पैसा कहाँबाट ल्याउनु, रेकर्डिङ देखाएर १५ वर्ष जेल, १०–१५ लाख जरिवाना हो, जेल बस्न चाहनुहुन्न भने १० लाख दिनु मलाई, १५ वर्ष जेल बस्नु १० लाख जरिवाना दिनु, अब जेल बसेर दिनुहुन्छ कि यत्तिकै बेइज्जत नभई दिनुहुन्छ भन्ने समेतको कुराकानीहरू म तथा जाहेरवाला सफी आलमबिच ह्वाट्सएपमा भएको कुराकानीहरू हो ।’
यी कुराकानी हेर्दा अस्मिताले ब्ल्याकमेल गरेको कुरा आफैँले स्वीकार गरेकी छिन् । अस्मिताकै बयानमा आफू चितवनबाट डेढ वर्ष अगाडि काठमाडौं आएको र कुलेश्वरमा आफन्तसँग बसी ब्याचलर पढ्दै गरेको बताएकी छिन् । अस्मिताको बयानमा आफूहरूबिच कुराकानी हुने गरेको र विभिन्न रेस्टुरेन्टहरूमा गई खाजा खाने गरेको कुरा समेत स्वीकार गरेकी छिन् । तर आफू होटेलमा गएको नभई जबरजस्ती लगिएको तर शारीरिक सम्बन्ध नभएको पनि बयानमा उल्लेख छ ।

अस्मिताको बयानमा अगाडि भनिएको छ, ‘…त्यसको केही दिनपछि जाहेरवाला सफी आलमले मलाई जिल्ला काठमाडौं का.म.न.पा वडा नं ९ सिनामंगलमा चिनेको होटेल छ त्यहाँ खाजा खाऊँ भनेकोले सुप्रिम होटेलमा कोठा बुक गरी हामीले खुकुरी रम, मासु खायौँ । रुम बुक गरे पनि हामीबिच कुनै अनैतिक क्रियाकलाप भएन । निजसँग बेलाबखत भेट हुँदा मलाई रकमको आवश्यकता हुनाले मैले रकम मागेकोले मेरो ई–सेवामा रकम पठाउने गर्दथे । सो पश्चात् पनि निजले मलाई सधैँ खाजा खान भेटौँ होटेल जाऊँ भनेकोले निजबाट टाढा हुन मैले मैले प्रयोग गर्ने ह्वाट्सएप नम्बर ९८६५०८९XXX बाट निजले प्रयोग गर्ने ह्वाट्सएपमा कल गरी रेकर्डिङ म सँग छ आइतबारसम्म म केश नै लड्दिन्छु, यति कुरा याद राख्नु, १५ वर्ष जेल, १०–१५ लाख जरिवाना हो, जेल बस्न चाहनुहुन्न भने १० लाख दिनु नभए १५ वर्ष जेल बस्नु, १० लाख जरिवाना दिनु अब जेल बसेर दिनुहुन्छ कि यत्तिकै बेइज्जत नभई दिनुहुन्छ भनेको हुँ ।’
अस्मिताले अनुसन्धानको क्रममा बयान गर्दा आफूलाई आलमले पछ्याएको कारणले पनि उसबाट पिछा छुटाउन त्यस्तो धम्की दिएको बयान दिएकी छिन् । यद्यपि अस्मिताले ३ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो भने अदालतमा पनि धम्की दिएको र रकमको बार्गेनिङ गरेको कुरा स्वीकार गरेकी थिइन् ।
तर अदालतले भने अस्मितालाई ४५ हजार धरौटीमै रिहा गर्ने आदेश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया