बागलुङ । समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाईमा छ थामचौर । अग्लो पहाडको टुप्पोमा टक्क अडिएको थामचौर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । अझ यहाँबाट देखिने दृश्यले धेरैलाई मोहित पार्छ । उत्तरतिर सेताम्य हिमशृङ्खला, लालीगुराँस फुलेर रातम्या बनेका जङ्गल र अग्ला पहाड अवलोकनका लागि थामचौर उत्कृष्ट गन्तव्य हो ।
भौगोलिक विकटताका कारण हालसम्म ओझेलमा रहेको थामचौरमा पछिल्लो समय छिटफुट आन्तरिक पर्यटक पुग्न थालेका छन् । मध्यपहाडी लोकमार्गको भिमगिठे बजारदेखि करिब १३ किलोमिटर उत्तरमा रहेको थामचौर पुग्न सडक मार्गको सुविधा भए पनि व्यवस्थित छैन । शान्त वातावरण, स्वच्छ हावा र चराचुरुङ्गीको चिरविर आवाजले पर्यटकको थकान मेटाउँछ ।
बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठे बजारको शिरमा अवस्थित थामचौरमा गाडी वा पैदल दुवै किसिमले पुग्न सकिन्छ । भिमगिठेदेखि डाँडागाउँ, माझखर्क, असारेगाउँ छिचोल्दै थामचौर पुग्ने सडक केही अप्ठ्यारो हुँदा यात्रा नभए पनि थामचौर पुगेपछि यहाँको सुन्दरताले पर्यटकको थकान सहजै मेटाई दिन्छ । आँखै अगाडि देखिने हिमाल, अनगिन्ती अग्ला पहाड र मनै फुरुङ्ग बनाउने विभिन्न प्रजातिका फूलले पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् ।
थामचौरबाट धौलागिरिसहित आधा दर्जन हिमाल, ढोरपाटन, निसीखोला, बडिगाड, गुल्मी, प्युठान, रोल्पा, रुकुमलगायत थुप्रै ठाउँ एकै स्थानबाट सहजै देख्न सकिन्छ । त्यति मात्रै होइन विभिन्न प्रजातिका चराचुरुङ्गी र वन्यजन्तु नजिकैबाट देख्न सकिन्छ । अग्लो स्थानमा रहेको थामचौरलाई हिमाल, वन जङ्गल, खोलानाला, खोँच र बस्ती अवलोकन गर्ने भ्यूटावरका रूपमा लिइन्छ ।
यहाँ घुम्न आउने पर्यटकलाई स्थानीयवासीले आँटो, ढिँडो, लोकल कुखुरा, बोकाको मासु, मकैको रोटीलगायतका स्थानीय परिकार खुवाउने गर्छन् । पर्यटकका लागि गाउँपालिकाले केही पूर्वाधार निर्माण गरिरहेको छ ।
विशाल समथर मैदानमा फैलिएको थामचौरमा बडिगाड गाउँपालिकाले सार्वजनिक शौचालय, पोखरी, मन्दिर र पर्यटकका लागि बस्ने ट्रस्ट भवन निर्माण गरेको छ । बडिगाड गाउँपालिका–७ का स्थानीय रेखीराम बुढाले दशक अगाडि गाउँलेले वस्तुभाउ चरन क्षेत्रको रूपमा प्रयोग गर्ने ठाउँ अहिले पर्यटकीय गन्तव्य बन्न थालेको बताए ।
थामचौरमा बागलुङ र गुल्मीको विभिन्न स्थानबाट वनभोजका लागि पर्यटक आउने गरेका छन् । हरेक वर्ष नयाँ वर्ष र होली पूर्णिमाका दिन एक हजार बढी पर्यटक यहाँ आउने बुढाले बताए । बाह्रै महिना पर्यटक भित्र्याउनका लागि राज्यले व्यवस्थित सडक निर्माण गर्नुका साथै प्रचारप्रसार गर्नु पर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया