प्रदीप ढकाल–
विश्व भूराजनीतिमा हाल एक नयाँ तरंग उत्पन्न भएको छ । दोस्रो विश्वयुद्धपछि संसारलाई नेतृत्व दिँदै आएको संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित ४७औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको शपथ लिएको दिनदेखि नै अन्तर्राष्ट्रिय मञ्चमा अनेकन् नृत्य देखिन थालेका छन् ।
Make America Great Again भन्ने नारासहित उदाएका ट्रम्प अमेरिकी इतिहासमै अपवाद बनेका छन् । एकपटक राष्ट्रपति भइसकेर फेरि चुनाव हारेका उनले राष्ट्रपतिको कुर्सी पुनः हात पार्न सफल भएका छन् । व्यापारिक पृष्ठभूमिबाट आएका ट्रम्प सफल अमेरिकी व्यापारी भए पनि उनको सोच र नीति मुलुकको दीर्घकालीन राजनीतिक स्थिरताभन्दा क्षणिक नाफा–नोक्सानमा बढी केन्द्रित देखिन्छ ।
राष्ट्रपति ट्रम्पले कार्यभार सम्हाल्नेबित्तिकै अमेरिकी नीतिमा ठूला परिवर्तनहरू गर्न थालेका छन् । पहिलो दिनमै उनले अमेरिका विश्व स्वास्थ्य संगठन (WHO) र पेरिस जलवायु सम्झौता जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरे । ट्रम्प प्रशासनले यी निर्णयहरूलाई आर्थिक भार कम गर्ने र राष्ट्रिय प्राथमिकताहरूलाई केन्द्रमा राख्ने रणनीतिको रूपमा व्याख्या गर्यो । तर यसले अमेरिकाको विश्वव्यापी भूमिकामा गम्भीर असर पार्ने देखिएको छ । विशेषगरी, जलवायु परिवर्तन र सार्वजनिक स्वास्थ्य जस्ता विश्वव्यापी मुद्दाहरूमा अमेरिकी सहभागिता खस्कँदै गएको छ ।
ट्रम्प र विश्व शक्ति सन्तुलन
ट्रम्पले आफ्नो प्रशासनको मुख्य नीति सरकारी खर्च कटौती र सार्वजनिक प्रशासन सुधार तर्फ केन्द्रित गरेका छन् । यसै सन्दर्भमा, खर्बपति व्यापारी तथा इन्जिनियर इलोन मस्कलाई ट्रम्पले नवगठित Department of Government Efficiency (DoGE) को प्रमुख जिम्मेवारी दिएका छन् । यसै विभागको सल्लाहअनुसार, ट्रम्प प्रशासनले अमेरिकी सहायता निकाय USAID लाई ९० दिनका लागि पूर्ण रूपमा बन्द गरिदियो । यसले विश्वका अल्पविकसित राष्ट्रहरूमा गम्भीर असर पुर्याएको छ ।
त्यसैगरी, ट्रम्प प्रशासनमा संयुक्त राष्ट्रसंघ (UN) र उत्तर एटलान्टिक सन्धि संगठन (NATO) बाट बाहिरिने बहस चलिरहेको छ । अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार, यस्ता निर्णयहरू अमेरिका स्वयंका लागि नै घातक बन्नेछन् ।
रुस–युक्रेन द्वन्द्व र ट्रम्पको रहस्यमय रणनीति
युक्रेन–रुस युद्ध सुरु भएदेखि नै अमेरिका र युरोपियन देशहरूले युक्रेनलाई साथ दिँदै आएका थिए । विशेषगरी, अघिल्लो कार्यकालका राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ठूलो सैन्य सहयोग गरेका थिए । कतिपय विश्लेषकहरूले त बाइडेनकै भूमिकाले युद्ध सुरु गराएको पनि बताउने गरेका छन् ।
तर ट्रम्पले चुनावी अभियानकै समयमा आफूले २४ घण्टाभित्र युद्ध रोक्ने वाचा गरेका थिए । यही अनुरूप, २८ फेब्रुअरीमा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्तिवार्ताका लागि ह्वाइट हाउस बोलाए ।
शुरुका केही मिनेटसम्म वार्ता सौहार्दपूर्ण देखिए पनि त्यसपछि माहोल एक्कासी तनावपूर्ण बन्यो । जेलेन्स्कीले रुसलाई कसरी विश्वास गर्ने भन्ने प्रश्न उठाए । जवाफमा ट्रम्पले भने, ‘मसँग सीमा नाघेका छैनन् ।’ त्यसपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हस्तक्षेप गर्दै भने, ‘शान्तिको बाटो कूटनीतिबाट मात्र खुल्छ ।’
तर वार्ता झन् चर्किदै गयो । जेलेन्स्कीले अमेरिकाको कूटनीतिक स्थितिप्रति असन्तोष व्यक्त गरेपछि उपराष्ट्रपति भान्स क्रोधित भए र भने, ‘तपाईं अमेरिकी राष्ट्रपति र राष्ट्रको सम्मान गरिरहनुभएको छैन ।’
ट्रम्पको भनाइ अझ विवादास्पद बन्यो । उनले भने, ‘तिमी अमेरिकालाई सिकाउने ? तिमी तेस्रो विश्वयुद्धलाई निम्त्याउँदैछौ ।’
ट्रम्पले युक्रेनलाई दिएको सैन्य सहयोगको सट्टा सम्पूर्ण खनिज स्रोत अमेरिकालाई सुम्पिनुपर्ने शर्त अघि सारे, जुन स्पष्ट रूपमा धम्की र ब्ल्याकमेल थियो । अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार, कुनै पनि जिम्मेवार राष्ट्रनेताले यस्तो राष्ट्रघाती सम्झौता सजिलै स्वीकार्ने कुरा असम्भव छ ।
ट्रम्प–पुटिन सम्बन्ध र षड्यन्त्र सिद्धान्तहरू
ओभल अफिसमा भएको यो चर्काचर्कीको घटनाले अब अमेरिका विश्व नेताका रूपमा आफ्नो प्रभुत्व गुमाउँदै जाने संकेत दिएको छ ।
यति मात्रै होइन, ट्रम्पको रूसप्रतिको असाधारण सहानुभूति ले नयाँ षड्यन्त्र सिद्धान्तहरू जन्माएका छन् । २४ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको महासभामा अधिकांश राष्ट्रहरूले युक्रेनको पक्षमा मतदान गरे वा तटस्थ रहे । तर पहिलो पटक अमेरिकाले रूसको पक्षमा मतदान गरेर विश्वलाई चकित बनाइदियो ।
ट्रम्प–पुटिन सम्बन्धको गहिराइ अझ सनसनीपूर्ण रूपमा बाहिर आउन थालेको छ । केही विश्लेषकहरू भन्छन्– ट्रम्प केवल अमेरिकी राष्ट्रपति मात्र होइनन्, उनी रुसी एजेन्ट पनि हुन् ।
हो, तपाईंले सही पढ्नुभयो ।
रूसी जासूसी संस्था केजीबीका पूर्व प्रमुखहरूले दाबी गरेका छन् कि ट्रम्पलाई १९८० को दशकमै केजीबीले आफ्नो एजेन्टका रूपमा भर्ती गरेको थियो । बेलायतका पूर्व जासुसहरूले समेत २०१७ मा प्रकाशित रिपोर्टमा पुटिनसँग ट्रम्पको अत्यन्त गोप्य फाइल रहेको खुलासा गरेका थिए ।
अन्तिम निष्कर्ष : शक्तिको हस्तान्तरणको युग
आज ट्रम्पको नीति हेर्दा उनले आफैं खनेको खाडलमा आफैं फस्ने देखिन्छ । शक्तिको मातमा उन्मत्त भएका ट्रम्पका निर्णयहरूले अमेरिका कमजोर हुँदै गएको छ ।
शताब्दीयौं लगाएर बनाएको अमेरिकी साम्राज्यलाई ट्रम्पले केबल केही वर्षमै ध्वस्त पार्दै छन् ।
यसले एक गहिरो पाठ दिन्छ– कसैको पनि भरपर्न हुँदैन । कुनै पनि देशले आफैंलाई आत्मनिर्भर बनाउन सिक्नुपर्छ ।
अब प्रश्न उठ्छ– के ट्रम्पले अमेरिकी इतिहासमा सबैभन्दा विवादास्पद राष्ट्रपति बन्नेछन् ? के विश्वशक्ति सन्तुलन अब चीन वा भारततर्फ सर्नेछ ? के अमेरिका आफ्नो प्रभुत्व जोगाउन सक्षम हुनेछ ? सत्य के हो ? त्यो त समयले नै बताउनेछ !
(यो लेखकको निजी विचार हो ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया