गणतन्त्रको मैदानमा पूर्वराजाको परेड : मृत सपनामा ‘मुजुरा’ [भिडियोसहित]

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको बोली प्रस्टैसँग फुटिदियो । आफू पुनः शासनमा फर्किन चाहेको उत्कट चाहना मुखै फोरेर भनिदिए– ‘देशको समृद्धिका लागि हामीलाई साथ दिनुस्’ ।

मध्यपश्चिमाञ्चलको भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र काठमाडौं आउने भएसँगै आइतबार बिहानैदेखि काठमाडौंको सडकमा एक किसिमको माहौल थियो । कतै ज्ञानेन्द्रले १६ वर्षअघि आफूले नारायणहिटीमा छाडेर गएको बिछ्यौना टकटकाउन विमानस्थलबाटै एकाएक नारायणहिटी नै पुग्छन् कि भनेझैँ गरी नारायणहिटी दरबार संग्रहालयमा केही दिनदेखि बाक्लो रूपमा सुरक्षाकर्मीहरू परिचालित भए ।

राजावादीहरूले पूर्वनिर्धारित नै गरेर कार्यक्रम तय गरेको हुनाले सुरक्षा व्यवस्थालाई कडा बनाइएको थियो । आइतबार पोखराबाट समिट एयरको विशेष विमान चार्टड गरेर काठमाडौं उत्रिएका ज्ञानेन्द्रको आगमनको भीड भने दुवै पक्षका लागि अनपेक्षित थियो । दुवै पक्ष अर्थात् राजावादी र गणतन्त्रवादी । राजतन्त्रलाई ‘चिहान’ को संज्ञा दिने गरेका गणतन्त्रवादीहरूले सोचेभन्दा बढी नै भीड जम्मा भइदियो भने यता राजावादीहरूले समेत नसोचेको भीड जम्मा भइदिँदा एकाएक राजा गद्दीमै फर्किन लागेको हो कि भन्ने जस्तै माहौल देखिन्थ्यो ।

जब ज्ञानेन्द्र सवार विमानले पोखराबाट भुईँ छाडेको खबर आयो, तब काठमाडौंमा राजावादीहरूको खुट्टाले भुँई छाडेको थियो । कोही नाच्दै थिए, कोही गाउँदै थिए, कोही प्रधानमन्त्रीदेखि शीर्ष नेतालाई मात्र होइन व्यवस्थालाई नै तथानाम गाली गाली गर्दै थिए ।

विमानस्थल बाहिरको दृश्य यस्तो थियो मानौँ, वर्षौँपछि माउ गुँडमा फर्किँदै छ, भोकाएका बचेराहरू आहारा लिएर आउने माउको पर्खाइमा छन् ।

मानौँ ज्ञानेन्द्र सबथोक हुन्, पोखराबाट जादुकै छडी ल्याएर एकाएक धमिलिएको बागमती पिउन योग्य बनाइदिन्छन्, फोहोर भएको सडकदेखि राजनीतिसम्म छुमन्तर पारिदिन्छन्, एकाएक रोजगारी दिलाइदिन्छन्, मध्यराति बत्ती नबाले पनि उज्यालो बनाइदिन्छन् । फागुन ७ को ज्ञानेन्द्रको बोली राप्रपा र राजावादीहरूका लागि वर्षौँको खडेरीमा आकाशबाट बर्सिएको पानीले किसानमा टुसाएको आशाको पालुवाजस्तै बनाइदियो ।

मयुर नाचेझैँ विमानस्थलको गोल्डेन गेटबाट झुल्किएका ज्ञानेन्द्रको अनुहारमा अचम्मको भाव थियो । धेरै वर्षपछि यति ठूलो भीडबाट ‘राजा आऊ देश बचाउ’ को नाराले पुकारिँदा उनी दंग थिए । फूलमाला लिँदै, कहिले पूर्व त कहिले पश्चिम दुई हात जोडेर मयुर नाचेझैँ गरी शरीर ढल्काइरहेका उनको अनुहारको हाउभाउ हेर्न सडक त भरिएको थियो नै रुखबाट समेत उनलाई हेर्नेहरूको भीड देखिन्थ्यो । अनुहारमा अनौठो मौनता देखाएका ज्ञानेन्द्रको सवारी जब विमानस्थलबाट अघि बढ्यो, उनलाई हजारौँको भीडले केही किलोमिटरको दूरीमा रहेको विमानस्थल र निर्मल निवासको दूरीमा समेत केही घण्टा लगाएर ‘जय जयकार’ को नारासहित शयन कक्षमा पुर्‍याएर फर्किए ।

राजावादीहरू निर्मल निवासबाट एक किलोमिटरको दूरीमा रहेको शीतल निवासका राष्ट्रपति हटाएर मात्र होइन यो व्यवस्था नै बदलेर केही किलोमिटरको दूरीमा रहेको नारायणहिटीमै उनै ज्ञानेन्द्रलाई विराजमान गराउन चाहन्छन् । आइतबार दुवै पक्षले नसोचेको अनपेक्षित भीड देखिएपछि धुरन्धर गणतन्त्रवादीहरूको मनमा ढ्याङ्ग्रो त बज्यो नै । त्यो भन्दा बढी ढ्याङ्ग्रो पुनः मुलुक अशान्तितिर जाने पो हो कि भन्ने समेत आशंका बढायो ।

आइतबारको जस्तै भीड केही दिन जम्मा गर्न सकिने हो भने ज्ञानेन्द्रलाई पुनः गद्दीमै फर्काउन सकिन्छ भन्ने मनसुवा एकाथरीको छ । अर्कोथरी भने भीडले मात्रै नहुने तर्क गरिरहेका छन् ।

ज्ञानेन्द्रको आगमन र स्वागतले उडेको गणतन्त्रवादीले आफ्नो सातो बोलाउन यदि भोलिका दिनमा पनि यसैगरीराजावादीहरूको भीड बढ्यो भने सुरक्षाकर्मीको लाठीबाट तिनीहरूको ढाड नबज्ला भन्न सकिन्न । यदि एकातिर पूर्वराजालाई काउन्टर दिन गणतन्त्रवादी दलले चेष्टा गर्‍यो या आगामी दिनमा पुनः ज्ञानेन्द्रले यसैगरी रिहर्सललाई निरन्तरता दिन खोजे भने भीडको प्रतिस्पर्धाले मुलुक थप अशान्तितिर जाने निश्चित देखिन्छ ।

गणतन्त्र स्थापनापछि आवधिक निर्वाचनमार्फत जनताका प्रतिनिधिहरू चुनिएकै छन् । निरन्तर निर्वाचन भएकै छ । उन्नत व्यवस्थाका अघि नागरिकको तन्नम अवस्थाले पछिल्ला दिनहरूमा केही निराशा र आक्रोशको ग्राफ भने बढिरहेको छ ।

जनताहरू निर्वाचनपिच्छे नयाँ नयाँ परीक्षणहरू गरिरहेका छन् । विकल्प खोजिरहेका जनताका अघि एकाएक पूर्वराजाको अभिव्यक्तिले पुनः केही नयाँ हुन लागेको हो कि भनेर तल्लो तहका नागरिकहरू एकटकले हेरिरहेका छन् ।

पूर्वराजाको अभिव्यक्ति र राजावादी शक्तिहरूको एकाएकको उत्साहपछि कुनै दलको व्यापक आक्रोश र कुनै दलको मौनताले पनि राजनीतिक माहौल थप रोमाञ्चक बनाइरहेको छ । पूर्वराजाको अभिव्यक्तिले सबैभन्दा बढी आफूलाई गणतन्त्रको मसिहा ठान्ने नेकपा माओवादीको सातो नै गएको देखिन्छ । हुलाकी राजमार्ग केन्द्रित जागरण सभा गर्दै तराई मधेसमा आफ्नो शक्ति सञ्चय गर्न हिँडिरहेका माओवादी नेताहरू एकाएक कार्यक्रम नै स्थगित गरेर काठमाडौं फर्किएका छन् । पूर्वराजा सलबलाए आफूहरू चुप लागेर नबस्ने र त्यसको प्रतिकार गर्नेसम्मका धम्की माओवादी नेतृत्वबाट आइरहेको छ ।

त्यसो त सत्ताको आफैँ नेतृत्व गरिरहेको दल नेकपा एमालेको पनि मनमा ढ्याङ्ग्रो नै बजेको देखिन्छ । एमालेको अध्यक्षता समेत गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली भाषणैपिच्छे पूर्वराजाप्रति कटाक्ष गरिरहेको सुनिन्छन् । सरकारको नेतृत्व गरेको एक वर्ष पनि नपुग्दै चौतर्फी आलोचनाको सिकार भएका ओली ‘कुर्सीमा बस्दैमा कोही राजा नहुने’ भन्दै फितलो तर्क गरिरहेका छन् भने उनको दलका शीर्षदेखि तल्लो तहका नेता कार्यकर्ताहरू थप त्रसित देखिन्छन् ।

यता कुनै बेला संवैधानिक राजतन्त्र मान्न तयार भएको दल नेपाली कांग्रेस भने दुई दलको तुलनामा त्यति धेरै आक्रोशित देखिँदैन । कुरालाई सकेसम्म थोरैमा टुंग्याएर गम्भीर मुद्रामा बस्ने सभापति शेरबहादुर देउवाले केही पटक बाहेक पूर्वराजाको कटाक्ष गरेका छैनन् । ‘राजतन्त्रमा हाँस्न होइन रुन पनि पाइँदैन’ भन्ने अभिव्यक्ति दिने देउवा र उनको दललाई पूर्वराजा र बाह्य शक्तिले खेल्न सक्ने कुनै धार्मिक कार्डले भने सोच्न बाध्य बनाएको छ ।

हिन्दु राज्यको पुनस्र्थापना माग गरिरहेको राजावादी दल राप्रपा र स्वयं पूर्वराजाले खेल्न सक्ने ‘हिन्दुत्वको कार्ड’ कुनै बेला कांग्रेसलाई परीक्षाको घडी बनिदिन सक्छ । अहिले पनि कांग्रेसमा हिन्दूराज्यको वकालत गर्ने जमात ठूलै देखिन्छ । पार्टीको मुख्य मानिने महासमिति बैठकमै खुलेआम रूपमै सनातन हिन्दु राज्यको पक्षमा पटक पटक हस्ताक्षर अभियान नै चले पनि कांग्रेसले धर्मका विषयमा भने आधिकारिक धारणा भने मुखरित गरेको छैन । तर देशलाई हिन्दु राज्यबाट धर्म निरपेक्षतामा लैजान भूमिका खेलेको भन्ने आरोप खेपेका केही नेताहरू अहिले पनि कांग्रेसकै शीर्ष तहमै छन् । यता कांग्रेसका केही शीर्ष नेताहरूको पूर्वराजाले पनि अन्य पार्टी र नागरिकले जसरी नारा जुलुस गर्न पाउँछन् भन्ने अभिव्यक्तिले कतै हौसिएका राजावादीहरूलाई ‘राजतन्त्रको करेसाबारीमा’ मलजल पुग्ने त होइन भन्ने आंकलन समेत हुन थालेको छ ।

यता वैकल्पिक राजनीतिको नाममा उदाएको र अहिले मार्गविहीनताको अवस्थामा रहेको रास्वपा भने बिलखबन्दमा परेको देखिन्छ । वैकल्पिक राजनीति र पुराना राजनीतिक दलहरूलाई गाली गर्दै एकाएक चौथो शक्ति बने पनि वाद र सिद्धान्तमा अस्पष्ट देखिँदा रास्वपा जुन तालमा मादल बज्यो त्यही तालमा नाच्न खोजेको पो हो कि भन्ने विश्लेषणहरू हुन थालेका छन् ।
आन्तरिक राजनीतिमा नै रुमल्लिइरहेका अन्य साना दल मधेसवादी दलहरू भने ठूला पार्टीको धारणाअनुसार आफूलाई के गर्ने के नगर्ने अन्यौलतामा देखिएका छन् ।

आइतबारको ज्ञानेन्द्रको जुलुसमा एउटा अचम्मको दृश्यले भने राजनीतिक दलहरूलाई मात्र नभएर सर्वसाधारणलाई समेत अचम्मित तुल्यायो । एकातिर पूर्वराजा ज्ञानेन्द्रको ठूलो तस्बिर र अर्कोतिर मित्रराष्ट्र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर देखेपछि भीड कतै अन्तैबाट पो परिचालित छ कि भन्ने आशंकाहरु फैलिएका छन् ।

चट्ट हेर्दा नेता भन्दा बढी हिन्दु गुरु जस्तो देखिने योगी आदित्यनाथको तस्बिरको अर्थले अनर्थ लियो भने नेपालमा एक पक्षको पल्ला भारी हुनसक्ने त्रासमा दलहरू देखिन्छन् । भारतमा भावी नेतृत्वको रूपमा समेत हेरिएका उनै योगी आदित्यनाथ र पूर्व राजपरिवारको बलियो सम्बन्धका कारण तस्बिर आएको हुनसक्ने समेत संकेत गरिएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा आदित्यनाथ मुख्यमन्त्री बनेपछि नै नेपालमा धर्मको कार्ड खेल्न खोज्नेहरूले विभिन्न अड्कलबाजीहरू गरिरहेका थिए ।

ज्ञानेन्द्रसँग राम्रै उठबस भएका, आउजाउ राम्रै चलिरहेका र नेपाल हिन्दु सापेक्ष राज्य भएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि देखाएर ‘हिन्दु राष्ट्र नेपाल’ समेत सार्वजनिक रूपमै भन्ने उनै योगी आदित्यनाथ पूर्वराजाको स्वागतमा चर्चा पाउनुले पनि थप गम्भीर भएर सोच्न बाध्य बनाएको छ ।

नेपालमा ओली सरकारको नेतृत्वमा आएदेखि नै भारतसँगको सम्बन्ध चिसिएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका उत्तराधिकारी मानिने योगी आदित्यनाथको तस्बिर अघि मन्द मुस्कान र गम्भीर मुद्रामा देखिएका ज्ञानेन्द्रको चालबाजीमा समेत शंका गर्ने प्रशस्त ठाउँहरू रहेको देखिन्छ । यता राजाको स्वागतमा ठूलै सामथ्र्य खर्चिएको राप्रपा भने सडकमा लेनिन माओवादीलाई आदर्श मान्दै तस्बिर लिएर हिँड्नेहरूले योगी आदित्यनाथको तस्बिर नौलो नभएको भन्दै माहौललाई उत्तेजित पारिरहेको छ ।

आइतबारको जमघटमा देखिएका विभिन्न हिन्दु संघसंस्थाको पर्चा र ब्यानरले पनि आगामी दिन नेपाल धार्मिक परीक्षणको मैदान नबन्ला भन्न सकिन्न । ज्ञानेन्द्रको अभिव्यक्तिपछि एकाएक मिल्न आएका राजतन्त्रका समर्थकहरूको भीडमा दलसँग बिरक्तिएर मिसिन आइपुग्दा व्यवस्थाको मसिहा भन्नेहरूलाई सोच्न भने बाध्य बनाइदिएको छ ।

आइतबार राजावादीहरूको भीडमा राजाको प्रत्यक्ष शासन नभोगेका र नदेखेका युवाहरूको ठूलो जमात मिसिँदा युवाशक्ति पुनः पुरानै व्यवस्था फर्काउन लागे भनेर समेत भ्रम फैलाइएको छ । तर वाक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका लागि सडकमा उर्लिने भीड नै राजतन्त्रको समर्थनमा उर्लिएको हो भने, यो व्यवस्था र त्यो व्यवस्थाबिच हुने अन्तर नबुझेका युवा जमातले पुनः पुरानो व्यवस्थाको वकालत गरेका हुन् भने त्यसले भविष्यमा झन् ठूलो निराशा ल्याउने विश्लेषणसमेत भइरहेको छ ।

त्यसो त राजसंस्थाको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी शक्तिका हिसाबले पुनः थप शक्तिशाली देखिन्छ । पूर्व राजाको अभिव्यक्तिपछि एकाएक मिलेका जस्ता देखिने राजावादी दलहरू राप्रपा, राप्रपा नेपाल र विभिन्न व्यक्तिका नाममा खुलेका संस्थाहरूमा को ज्ञानेन्द्रको प्यारो बन्ने भन्ने होडबाजी देखिएको छ । आइतबारको भीडमा एकातिर पूर्वराजा, अर्कोतिर उनको समर्थन गर्ने दलहरू, अर्कोतिर अमुक व्यक्तिका समूह र विभिन्न धार्मिक समूहरु विभाजित देखिन्थे । यसअघि पनि विभिन्न झुण्ड र समूहमा राजा ल्याउनुपर्छ भन्दै आन्दोलनहरू नभएका होइनन् । तर पूर्वराजाको कुनै ‘सिग्नल’ नपाउँदा आन्दोलनलाई स्थगित बनाएका शक्तिहरू एकाएक मिलेको जस्तो देखिँदा गणतन्त्रवादीहरूलाई केही सोच्न बाध्य बनाएको छ नै । तर यदि राजतन्त्र फर्काउन आन्दोलन नै भएमा पनि त्यसको नेतृत्व कसले गर्ने र जस लिने होडबाजीले त्यो भीडलाई पहिलेको उदाहरण हेरेर भन्ने हो भने तितरबितर देखिन्छ ।

एकातिर मुलुकमा गणतन्त्र आए पनि दलभित्र गणतन्त्र आउन नसकेको अवस्था, देश छाड्नुपरेको आक्रोशमा रहेको ठूलो युवाशक्ति, निर्वाचनपिच्छै भइरहेको वैकल्पिक शक्तिको परीक्षण, चरम निराशा बढिरहेको भन्ने जबरजस्त भाष्य, मति बिगारेका दलहरू, सोचेअनुसार अवस्था नबदलिएको नागरिकको अवस्था, बढ्दो विदेशी हस्तक्षेप र विकास निर्माणमा विदेशीकै भर पर्नुपरेको अवस्था । यी र यस्तै माहौलको मौकामा चौका हान्न सकिन्छ कि भन्दै बेलाबेला ‘अब बेला भयो कि’ भन्दै अभिव्यक्ति दिने ज्ञानेन्द्रको शक्ति प्रदर्शनलाई न गम्भीर रूपमा लिने मनस्थितिमा दलहरू छन्, न त त्यसलाई पूर्ण बेवास्ता गरेर लत्याउने अवस्थामा नै दलहरू देखिन्छन् ।

अब गणतन्त्रको मैदानमा पूर्वराजाको परेडले झस्किएर दोधार र दोमनमा रहेका दलहरू राष्ट्रिय सहमतिका लागि भन्दै पुनः जुट्न सक्छन् । गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउँदा राजावादी शक्तिहरू पनि एक ठाउँमा पुग्न सक्छन् । तर गणतन्त्रवादी र राजतन्त्रवादीहरूको शक्ति प्रदर्शनको खेलले मुलुकमा अशान्ति फैलियो, यहीबिचमा धार्मिक कार्ड समेत मिसिन आइपुग्यो भने व्यवस्था र अवस्था के होला भन्न सकिन्न । तर जुन तन्त्र आए पनि मुख्य कुरा मति हो, गति हो । मति नसुधारिए व्यवस्थामध्येको उन्नत यो व्यवस्था र जनताले नै ठूलो संघर्ष गरेर फालेको त्यो व्यवस्थाले मात्रै मुलुक बन्दैन । तर ठूलो संघर्षपछि प्राप्त सफलतामा जबरजस्त हस्तक्षेप बढाउँदै मुलुकलाई पुनः अशान्त बनाउन खोजेमा भने जनताले एकपटक असफल भइसकेको व्यवस्थालाई दोहोर्‍याएर असफल करार नगर्लान् पनि भन्न सकिन्न ।]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?