स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी

लोकपथ
3k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तालाबन्दी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समय तोकेको छ । जसअनुसार फागुन २७ गते मंगलबारका लागि मनोनयनको समय तोकिएको थियो ।

सो अनुसार नेविसंघले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अनोज कार्कीलाई सभापतिको उम्मेदवार बनाएको थियो । तर त्यहाँ नेविसंघबाट अन्य उम्मेदवारले समेत मनोनयन गरेपछि तालाबन्दी गर्नुपरेको नेविसंघ केन्द्रीय क्याम्पस समितिका सभापति विष्णु बडैलाले बताए

५ बजेसम्म मनोनयनको समय तोकिएकोमा समय सकिएपछि विश्वविद्यालय निर्वाचन समिति र प्रशासनले गैरजिम्मेवार क्रियाकलाप गरेको भन्दै अनिश्चितकालीन तालाबन्दी गरिएको उनले बताए ।

‘…स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समयमा आज मनोनयन दर्ता गर्ने क्रममा नेपाली कांग्रेसका महामन्त्री तथा स्ववियु केन्द्रीय परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा र नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेविसंघ निर्देशक समिति संयोजक र स्ववियु टिकट वितरण समितिका संयोजकज्यूको स्पष्ट निर्देशनमा त्रिभुवन विश्वविद्यालयको समितिबाट स्ववियु निर्वाचनका लागि आधिकारिक उम्मेदवार तय गरी अगाडि बढ्न साथै स्ववियु अध्यक्षमा अनोज कार्कीको नेतृत्वमा अघि बढ्न दिइएको निर्देशन अनुसार हामीले आज मनोनयन दर्ता गर्यौँ । साथसाथै नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय निर्वाचन आचारसंहिता अनुसार ५ बजेपछि मनोनयन पत्रसहित केही जत्थाहरु र अन्य दलका संघसंगठन उपस्थित भएको र समयसीमा काटिसकेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतज्यूले केही आदिकल्चो फर्म लिई बुझेको हुँदा उक्त क्रियाकलाप निर्वाचनको आचारसंहिता विपरित भएको हुँदा उक्त कुरा नसच्याइएसम्म अनिश्चितकालीन रुपमा तालाबन्दी गरिएको जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यता त्रिविमा नेविसंघको तर्फबाट तीन जनाको उम्मेवारी परेको छ । नेविसंघ केन्द्रीय समितिले दिपकराज जोशीलाई सभापतिको टिकट दिएको थियो । तर हाल स्ववियु कोषाध्यक्ष समेत रहेकी पद्मा भुसालले समेत उम्मेदवारी दिएकी छिन् ।

स्ववियु निर्वाचनका लागि काठमाडौं उपत्यकाका केही ठूला क्याम्पसहरुमा उम्मेदवारी चयनमा नेविसंघभित्र विवाद देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?