म्याग्दीमा दक्ष जनशक्ति उत्पादनका लागि सीपमूलक तालिम

लोकपथ
21
Shares

म्याग्दी । स्थानीय स्तरमा आवश्यक दक्ष जनशक्ति तयार पार्न म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा र वडा नं २ लुलाङमा कार्यस्थलमा आधारित जीवन उपयोगी सीप विकास तालिम सञ्चालन भएको छ । 

गाउँपालिकाअन्तर्गतको रोजगार सेवा केन्द्रको आयोजनामा गुर्जामा मेसन (डकर्मी) र लुलाङमा सडक मर्मतसम्बन्धी ५० दिनको तालिम सञ्चालन भएको हो । धौलागिरि गाउँपालिकाका रोजगार संयोजक देव पुनले स्थानीय स्तरमा आवश्यक दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना र आयआर्जनको अवसर सिर्जनाका लागि तालिम सञ्चालन गरिएको बताए ।  

प्रतिस्पर्धामार्फत छनोट भएको परामर्शदाता कम्पनी पोखरा भ्याली ट्रेनिङ इस्टिच्युटका प्रशिक्षकले तालिमको सहजीकरण गरेका छन् । दुई वटा वडाका २०र२० जनाको तालिममा सहभागिता छ । तालिमपश्चात् सडक मर्मत र डकर्मीसम्बन्धी काम गर्ने दक्ष र सीपयुक्त जनशक्ति तयार हुने अपेक्षा गरिएको छ ।

चालिस दिन कार्यस्थलमा व्यवहारिक र १० दिन सैद्धान्तिक विषयमा सहजीकरण गरिनेछ । तालिममा सहभागीले हाजिरीको आधारमा न्यूनतम ज्याला दैनिक  सात सय १२ पाउँछन् । ५० दिनको योजनामा काम गरी एक सय दिन बराबरको न्यूनतम रोजगारमा संलग्न गराइनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?