सरकारी जग्गा कब्जा गरेको आरोप प्रमाणित गर्न रास्वपा सांसदलाई केदारनरसिंह केसीको चुनौती

लोकपथ
3.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले आफू विरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई चुनौती दिएका छन् ।

आफूममाथि लागेको आरोपबारे खण्डन गर्दै पत्रकार सम्मेलनमार्फत् आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् । त्यस्तै उनले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसलाई डटेर सामना गर्ने समेत बताए ।

फागुन २८ गतेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर नगरपालिका वडा नम्बर ९ (मनमैजु) को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको भनी आरोप लगाएका थिए । 

सोही विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र आधार र प्रमाण बिना रास्वपा सांसदहरूले वदनियतपूर्ण तरिकाले आञ्छना लगाएको बताए । सांसदको शून्य समयमा सांसदद्वयबाट अस्वाभाविक रूपमा आधार तथा प्रमाण नै बिना भ्रमपूर्ण प्रचार गरिएको बताए । संसदमा उठाएको विषयलाई प्रमाणित गरी कानूनतः दोषी प्रमाण गर्न चुनौती दिए । रास्वपा सांसदद्वयले आफ्नो चरित्र, साँख, प्रतिष्ठामाथि गरेको प्रहारलाई कानुनी उपचारको बाटो लिने चेतावनी दिए । 

उनकाअनुसार मालपोत कार्यालय मनमैजुले गत साउन १६ गते लेखेको पत्रमा २०८१ साउन १४ गते पत्र प्राप्त भएको र सोको सम्बन्धमा काठमाडौं जिल्ला साविक मनमैजु वडा नम्बर ९ सिट नम्बर १०२०९४४२३ कित्ता नम्बर ६२ को क्षेत्रफल २१.६२ वर्गमिटर जग्गा जग्गाधनी केदार नरसिंह केसीका नाममा र कित्ता नम्बर ६३ को क्षेत्रफल २६३.६१ नेपाल सरकारका नाममा कार्यालयको मोठ श्रेस्तामा जनिएको ब्यहोरा उल्लेख छ । 

उनले मालपोत कार्यालयले तारकेश्वर नगरपालिकालाई उक्त ब्यहोराको पत्र लेखि पठाएपछि स्थानीय वडा कार्यालयले मोठ भिडाउने लगायतका काम गरिसकेको बताए । कित्ता नम्बर ६३ प्रस्तावित बाटो भनेर पहिले नै पास भइसकेको उनको भनाइ छ । सोही अनुरूप सीमाङ्कन गर्न भनेर एक वर्षअघि नै आफूले निवेदन दिएको र हाल सीमाङ्कनको काम पनि सकिसकेको जानकारी दिए । लगाइएको पर्खालको सन्दर्भमा ढिस्कोको रूपमा रहेको जग्गाबाट माटो, बालुवा झरेर बाटो समेत छेकिने अवस्था रहेकाले उक्त कार्य रोक्नका लागि स्थानीय र जनप्रतिनिधिको आग्रह र रोहवरमा नै २०५५/०५६ साल तिरै पर्खाल लगाइएको बताए । 

उनले आफूले कानुन विपरीत कुनै काम नगरेको दाबी गर्दै सडकका लागि छुट्याइएको कित्ता नम्बर ६३ को सरकारी जग्गा सरकारकै नाममा रहेको र कित्ता नम्बर ६२ आफ्नो नाममै रहेको बताए । 

त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले दुई सांसदले विषय नै नबुझी अरुमाथि आरोप लगाएको बताए । साथै आफू सार्वजनिक जग्गा संरक्षणमा लागेको भन्दै कसैले पनि बदमासी गर्न नपाउने बताए ।

मेयर महर्जनले आगामी दिनमा सो जग्गा दुई सांसदहरुकै रोहबरमा राखेर पुनः नापजाँच गर्ने समेत बताए । यता स्थानीय इन्द्रमान महर्जनले भने आफूले थाहा पाएसम्म त्यस क्षेत्रमा नेवार समुदायका बालबालिका गाड्ने चिहान अर्थात् मचाका नै नरहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?