पूर्वराजा शाहप्रति माधव नेपालको टिप्पणी– ‘कुनै त्याग, तपस्या र बलिदान नगरेकाको हातमा देश दिन सकिँदैन’  

लोकपथ
2.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्न जरुरी रहेको बताएका छन् ।  शनिबार ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले सामन्तवादी व्यवस्थामा जाने कुरा सह्य नहुने बताए । दलाल पुँजीवादको वर्चश्व रहेको व्यवस्था परिवर्तन गरेर समाजवादी गणतन्त्रमा जानुपर्नेमा उनको जोड छ  । 

उनले भने, ‘अहिले व्यवस्था बदल्नुपर्छ भन्नेकुरा आइरहेको छ । अवश्य पनि पुँजीवादी व्यवस्थालाई बदल्नुपर्छ । तर सामन्तवादी व्यवस्थामा जाने होइन । दलाल पुँजीवादको वर्चश्व रहेको यो व्यवस्था, जो वंशको आधारमा पहिला १०४ वर्षसम्म र त्यसपछि २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू सत्ताको दुरुपयोग गरेर हालीमुहाली चलाएकाहरू हुन् । तिनीहरूबाट मुक्ति चाहियो । समाजवादी गणतन्त्रमा जानैपर्छ । नेपाली विशेषताको समाजवादको नयाँ अवधारणा हाम्रो पार्टीले अघि सारेको छ ।’

अध्यक्ष नेपालले व्यवस्था बदल्न चाहनेहरू प्रतिगमनतिर नभएर अग्रगमनतिर आउनुपर्ने बताए । उनले वंशको कुरा छोड्न सबैलाई आग्रह गरे । पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै त्याग, तपस्या, बलिदान नगरेको बरु देशलाई लुट्ने काम गरेको आरोप लगाए । पूर्वराजा शाहप्रति आरोप लगाउँदै उनले लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्न नहुने बताए । देशको इज्जत, प्रतिष्ठा र मर्यादालाई माथि उठाउन अब नयाँ समाजवादी व्यवस्था जरुरी रहेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?