‘समाजवादी मोर्चा प्रचण्डलाई सरकारमा जान बनाइएको टेको होइन’

लोकपथ
1.1k
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रूपमा निर्माण नगरिएको बताएका छन् । 

शनिबार ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रचण्डको लागि समाजवादी टेको बनाइयो भन्नेकुरा सही नभएको बताए । उनले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीहरूको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्नेकुरा गलत भएको र यसअघि पनि आफूहरूले विभिन्न कार्यक्रम गरेको बताए ।

अध्यक्ष दाहालले भने, ‘समाजवादी मोर्चा प्रचण्डको लागि टेको हो भन्नेकुरा बिल्कुलै गलत हो । हामीले समाजवादी मोर्चा सोचे, सम्झेर बनाएको हो । पहिला उपेन्द्र यादव हुनुहुन्थ्यो, अदालतमा मुद्दा परेकाले अहिले हुनुहुन्न । अहिले महेन्द्र राय यादव हुनुहुन्छ । हामी चार पार्टी नै रहेका छौँ । यो प्रचण्डको लागि भन्ने जो पर्न गएको छ, त्यो गलत पर्न गएको छ । समाजवादी मोर्चा २५ गतेको कार्यक्रमपछि मात्रै बैठक बसेर कार्यक्रम घोषणा गरेका होइन ।’

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूले एक पटक जनतासँग आफ्नो आत्समीक्षा गर्न आवश्यक रहेको बताए । सोही उद्देश्य लिएर आफूहरू जनतासँग जोडिएको उनको जिकिर छ । उनले विगतमा भएका त्रुटिहरू सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । समाजवादी मोर्चाको कार्यक्रम राजावादीहरूको प्रदर्शकको जवाफ र कम्पनको कुरा नभएको उनको भनाइ छ । 

उनले भने,‘हामीले के महसुस पक्कै गरेको हो भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूले एक पटक जनतासँग आफ्नो आत्समीक्षा पनि जनतालाई राख्नुपर्ने भयो । केके त्रुटि विगतमा भए भन्नुपर्ने हुन्छ, अघि कसरी जाने भन्नेकुरा जनतालाई भन्नका लागि राखिएको कार्यक्रम हो । यो कुनै रियाक्सन पनि होइन । सानो कम्पन र ठूला कम्पनको कुरा पनि होइन ।’

अध्यक्ष दाहालले सरकारमा भएका वा नभएका पनि गणतन्त्रका पक्षधहरुसँग कुरा भइरहेको तर सरकारले विपक्षी दलहरूलाई अघि बढ्न र सरकारले पनि साथ दिने कुरा नगरेका बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?