प्रतिस्थापन विधेयकलाई सदनमै छलफल गरेर अगाडि बढाउने प्रतिनिधि सभाको तयारी

लोकपथ
896
Shares

काठमाडौं । प्रतिनिधि सभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने भएको छ । प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले अध्यादेशका प्रतिस्थापन विधेयकलाई प्रतिनिधि सभाको बैठकमा छलफल र निर्माणार्थ पेस गर्ने कार्यपालिका बनाएको हो ।

चैत ४ गते र चैत ७ गते बस्ने बैठकले सबै प्रतिस्थापन विधेयक पास गरेर राष्ट्रिय सभामा पठाइने भएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकले चैत ४ गतेदेखि १५ गतेसम्मको कार्यपालिका पनि बनाएको छ । प्रतिस्थापन विधेयकका साथै नियमित प्रक्रियाबाट आएका विधेयक पनि पारित गर्ने प्रतिनिधि सभाको योजना छ ।

सरकारले चालु अधिवेशन बोलाउनु केही दिनअघि गत पुस २९ गते चार वटा अध्यादेश र माघ २ गते एउटा अध्यादेश ल्याएको थियो । सरकारले अध्यादेश ल्याएपछि बस्ने संसद्को पहिलो बैठकमा पेस हुने र त्यसको ६० दिनभित्र संघीय संसद्को दुवै सदनबाट पास गरी राष्ट्रपतिबाट लालमोहर लागि सक्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई राष्ट्रिय सभामा टेबल गर्ने अवस्था नै नबनेपछि फिर्ता लिइएको छ । 

बाँकी संशोधन गर्ने अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश र निजीकरण पहिलो संशोधन अध्यादेश प्रतिनिधि सभाको बैठकमा नै छलफल गरी निर्माणार्थ अगाडि बढाइने कार्य योजना छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?