स्वास्थ्य बीमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

लोकपथ
322
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताएका छन् । 

आइतबार मन्त्रालयमा स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन र कार्य योजनाको सार्वजनिक करण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले स्वास्थ्य बीमा कार्यक्रमलाई केवल स्वास्थ्य मन्त्रालयको कार्यक्रमका रूपमा सीमित राख्न नहुने बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका सबै निकायहरूको दृढ संकल्प, नीति–निर्माताहरूको सहयोग र समग्र राष्ट्रको एकीकृत प्रतिबद्धता अपरिहार्य रहेको बताए । 

यसका लागि मन्त्रालयको तर्फबाट प्रधानमन्त्री तथा सिंगो संसद्को सहयोगमा हाल विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै संरचनाभित्र समेटी एकीकृत व्यवस्थापन गरिने जानकारी दिए ।

उनले छुट्टाछुट्टै रहेका कार्यक्रमहरूलाई क्रमशः एउटै छातामुनि ल्याई उपचारमा सबैको समान पहुँच, सेवा प्रवाहमा पारदर्शिता र उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी स्वास्थ्य बीमा प्रणालीलाई समृद्ध, व्यवस्थित  र नागरिकमैत्री बनाइने बताए । 

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा डीपार्चार चाहिएको र त्यो बीमाको दिगो व्यवस्थापन र विस्तारबाट नै सम्भव रहेको जिकिर गरे । उनले सरकारले ‘सबैका लागि–सधैँका लागि: स्वास्थ्य बीमा’भन्ने मूल उद्देश्यका साथ हामीले यस कार्यक्रमलाई विस्तार गर्न चाहेको उल्लेख गरे । उनले नेपालको स्वास्थ्यसम्बन्धी संवैधानिक दायित्व पूरा गर्ने तथा आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य बीमा कार्यक्रम एउटा महत्त्वपूर्ण प्रस्थान विन्दु रहेको जिकिर गरे ।

आम नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्न आजको सबैभन्दा उत्तम विकल्प स्वास्थ्य बीमा कार्यक्रम नै भएको बताए । कुनै पनि नेपाली नागरिकले ढुक्कसँग उपचार गराउन पुग्ने गरी स्वास्थ्य बीमाको दायरा बिस्तार गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ । 

मन्त्री पौडेलले स्वास्थ्य बीमा प्रणालीमा जोडिएर गरिने औषधि उपचार लगायतका धेरै जसो कार्य डिजिटल मध्यमबाट गरिँदै आएको बताउँदै अब यसलाई अधिकतम रूपमा विकास गरी पूर्णतया डिजिटल मध्यमबाट हुने गरी विकास गर्ने योजना रहेको बताए । जसले औषधि उपचारका क्रममा लाग्ने सबै खर्च र प्रक्रियाहरूको बारेमा ट्रयाक राख्ने र कुनै प्रकारको  फेक क्लेम तथा अनियमितता हुन नदिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?