आईजीपी कुँवर भोलि अनिवार्य अवकाशमा जाँदै, एक दिन बाँकी छँदा पनि टुंगो छैन नयाँ आईजीपीको 

लोकपथ
1.3k
Shares

काठमाडौं । भोलि सोमबार राति १२ बजेपछि प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर ३० वर्ष सेवा अवधि पूरा गरेर अवकाशमा जाँदै छन् । तर, आज आइतबारसम्म पनि भावी महानिरीक्षकको टुंगो लाग्न सकेको छैन । प्रहरीको ३१ औँ प्रमुख चयनलाई राजनीतिक दाउपेचको विषय बनाइँदा नियुक्तिमा ढिलाइ भइरहेको हो । 

आईजीपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ आईजीपीको दाबेदार छन् । यी तीनमध्येबाटै एक जना आईजीपी बन्ने छन् । तर, झन्डै ८० हजार जनशक्ति रहेको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीको प्रमुख चयनलाई राजनीतिक दाउपेचको विषय बनाउँदै टुंगो लगाउन ढिलाइ गरेर सरकार स्वयंले गलत समूहलाई चलखेल गर्ने बाटो दिएको छ । 

नेपाली सेनामा अवकाशमा जानु एक महिनाअघि नै बिदामा बसेर नयाँ आउने नेतृत्वलाई संगठनबारे बुझ्न निमित्त दिने परम्परा भए पनि प्रहरीमा भने राजनीतिक दाउपेच र प्रतिस्पर्धीबिचको अस्वस्थ प्रतिस्पर्धा गराउने सरकारी नियतका कारण एक दिनअघिसम्म पनि भावी महानिरीक्षकको टुंगो नलागेको हो । सरकारले अन्तिम समयसम्म पनि यो विषयलाई टुंगो नलगाउँदा प्रतिस्पर्धीहरूलाई शक्तिकेन्द्र धाउन सरकार स्वयंले बाध्य पारिरहेको छ । स्रोतका अनुसार, त्यति मात्र नभएर नियमित कामसमेत प्रभावित हुने गरी प्रहरीका अधिकृतहरू राजनीतिक नेतृत्वसम्म पहुँच भएका बिचौलियामार्फत दबाब दिन सक्रिय भइरहेका छन् । 

नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक केदार साउदको बुझाइमा, संवेदनशील संगठनका लागि योग्य र सक्षम नेतृत्व चयन गर्न ढिलाइ गरेर सरकार स्वयंले आशंका गर्ने ठाउँ दिएको छ ।

थापा, गिरी र तामाङ जो नेतृत्वमा पुगे पनि उनीहरू अहिलेकै ३० वर्षे सेवाहदको प्रावधानअनुसार करिब ६ महिना संगठन प्रमुख बन्ने छन् । उनीहरू ०५२ साल भदौ १८ गते प्रहरी निरीक्षकमा नियुक्त भएका थिए । अहिलेकै ३० वर्षे सेवाहदको प्रावधानअनुसार उनीहरूमध्ये एकजना करिब ६ महिनाका लागि आईजीपी हुनेछन् । जसको टुंगो सोमबार मात्र लाग्ने सम्भावना देखिएको छ । सोमबारको नियमित मन्त्रिपरिषद्को बैठकले नयाँ आईजीपी नियुक्ति गर्ने सम्भावना छ । यसअघि पनि सरकारले अन्तिम दिन मात्र आईजीपीको निर्णय गर्दै आएको छ ।

भोलि राति १२ बजेपछि कुँवरसँगै अन्य ९ जना उच्च अधिकृत पनि प्रहरी सेवाबाट बिदा हुने भएका छन् । जसमा कुँवरसहित पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) तथा तीन नायब महानिरीक्षक (डीआईजी) छन् । उनीहरू सबै जना ३० वर्षे सेवाहदका कारण अवकाशमा जान लागेका हुन् । 

एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराईले अवकाश पाउन लागेका हुन् । त्यस्तै, डीआईजीहरू ध्रुवराज राउत, भोला रावल र गणेश चन्दले पनि भोलि नै अवकाश पाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?