सांसदहरुको सुविधा पनि घटाऔँ, म तयार छु : प्रकाश ज्वाला

लोकपथ
399
Shares

काठमाडौं । विपक्षी दल एकीकृत समाजवादी पार्टीका सांसद प्रकाश ज्वालाले सरकारले पूर्व विशिष्ट पदाधिकारीहरुलाई सुविधा दिन लागेको विषयमा आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका ज्वालाले पूर्व विशिष्ट पदाधिकारीहरुलाई दिन लागेको भनिएको सुविधा रोक्न माग गरे ।

उनले राज्यले अहिलेको आर्थिक संकटको समयमा पूर्व विशिष्ट पदाधिकारीहरुको तलब सुविधा बढाउने भन्दा घटाउनुपर्नेमा जोड दिए । साथै मन्त्रिपरिषद्ले निर्णय गरेर दिइरहेको सुविधाहरु समेत घटाना माग गरे । अहिलेको अवस्थामा सांसदहरुको समेत सुविधा घटाउनुपर्नेमा जोड दिँदै आफू त्यसको लागि तयार रहेको बताए ।

‘सरकारले पूर्व विशिष्ट पदाधिकारीहरुलाई सुविधा दिन ल्याएको विधेयक रोकिनुपर्छ । र अहिले मन्त्रिपरिषद्ले निर्णय गरेर जथाभावी रुपमा मनोमानी तरिकाले दिइएको सुविधा अन्त्य गरिनुपर्दछ । बरु वर्तमान पदाधिकारीहरु र वर्तमान राज्यबाट सुविधा लिने व्यक्तिहरुको पनि सुविधा घटाउने बेला हो, यो त संकटको बेला हो । हामी आफैँ तयार हुनुपर्छ । म तयार छु, सांसदहरुको सुविधा घटाउने हो भने म तयार छु, हामी तयार हौँ सभामुख महोदय,’ उनले भने ।

त्यस्तै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले समेत पूर्व विशिष्ट पदाधिकारीहरुको सुविधा घटाउनुपर्नेमा जोड दिएका छन्

गृहमन्त्रालयको प्रस्तावमा सरकारले पूर्व विशिष्ट पदाधिकारीहरुको सुविधा बढाउने गरी काम अघि बढाएको छ । पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्रीसहित पूर्व सभामुख र तथा पूर्व राष्ट्रिय सभा अध्यक्षको सुविधा बढाउने गरी काम अघि बढेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?