इजरायलको आक्रमणबाट गाजामा ३ पत्रकारसहित ९ जना मारिए

लोकपथ
168
Shares

काठमाडौं । इजिप्टको राजधानी कायरोमा गाजा युद्धविरामको विषयमा वार्ता हुँदै गर्दा इजरायलले शनिबार राति गाजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गर्दा तीन जना पत्रकार र ६ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, इजरायली हवाई आक्रमणमा परी अरू धेरै जना गम्भीर घाइते भएका छन् । इजरायलले गरेको हवाई आक्रमण एउटा कारमा परेको थियो । जसमा कारभित्र रहेका र बाहिर रहेकाहरूको मृत्यु भएको हो । 

‘सो कारमा सवार रहेकाहरू एउटा च्यारिटी कार्यक्रममा जाँदै थिए । सोही कारमा केही रिपोर्टर र फोटो पत्रकारहरू पनि सवार थिए । उनीहरू सबैको मृत्यु भएको छ,’ रोयटर्सले लेखेको छ ।

उता, इजरायली सेनाले विज्ञप्ति जारी गरेर बेइत लाहियामा दुई ‘आतंककारी’लाई निशाना बनाइएको उल्लेख गरेको छ । उनीहरू ड्रोन हमलावर भएको र ड्रोनलगायतका उपकरणहरू बोकेर गाडीमा छिरेको इजरायली सेनाको दाबी छ । सेनाका लागि उनीहरू खतरा हुन सक्ने आँकलन गरेर उनीहरूमाथि आक्रमण भएको इजरायली सेनाले प्रष्टीकरण दिएको रोयटर्सले जनाएको छ ।

हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयले पनि इजरायलको यो भनाइमा कुनै सत्यता नभएको. जनाएको छ । 

गाजा सरकारी मिडिया कार्यालयकी प्रमुख सलमा मारौफले सेनाको उक्त दाबीलाई अस्वीकार गर्दै भनेकी छिन्, ‘उक्त टोली सर्वसाधारणहरूको समूह हो जसले विभिन्न शिविरहरूमा मानवीय सहायतासम्बन्धमा च्यारिटीहरूमा काम गर्छन् । उनीहरू निषेधित क्षेत्रमा पनि थिएनन् र इजरायली सेनाले भनेजस्तो उनीहरूलाई खतरा पैदा हुने गतिविधिमा पनि संलग्न थिएनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?