काठमाडौं । प्राध्यापक डाक्टर युवराज संग्रौलाले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न माग गरेका छन् । आइतबार काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूलाई लागेको यौन दुर्व्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको बताए ।
उनले कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरुपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले यदि साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्ने बताए । कसैले सञ्जालमा लेखेको विषयलाई मिडियाले ट्रायल गर्ने हो भने राम्रा मान्छेहरू पीडित हुने उनको भनाइ छ ।
प्रा.डा. युवराज संग्रौलामाथि लगाएको यौन दुर्व्यवहारको आरोपको अनुसन्धान गर्न काठमाडौं स्कुल अफ लको व्यवस्थापनले डा. श्रीकृष्ण भट्टराईको संयोजनमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामीसहितको जाँचबुझ समिति गठन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया