काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जंगबहादुर राणाले गणतन्त्रको विकल्प खोज्ने दिन आएको दाबी गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद राणाले सो कुरा बताएका हुन् ।
उनले संसद्मा गणतन्त्रवादी दलहरुले राजतन्त्रप्रति कटाक्ष गरिरहेको भन्दै राजतन्त्रलाई कमनआक्न समेत चेतावनी दिए ।
‘यो देशमा जनताले चाहेको सनातन हिन्दू सापेक्ष अधिराज्यसहित यो गणतन्त्र र संघीयतालाई पाखा लगाउनु बाहेक अर्को उपाय छैन । यो काम समयमा नै गरम सभामुख महोदय, समय निस्किसकेपछि…’ उनले भने ।
त्यस्तै यसअघि संसद्मा राजतन्त्रविरुद्धमा आवाज उठिरहेको भन्दै अन्य पार्टीहरुको इतिहास समेत नभुल्न आग्रह गरे । साथै देशमा परिवर्तनको हावा चलिसकेको भन्दै त्यसलाई समयमा नै बुझेर अघि बढ्न समेत आग्रह गरे ।
‘हामी इतिहासलाई नर्बिसम । यहाँ भएका अधिकांश पार्टीको इतिहास जनताको रगत नुहाएर आएको नबिर्सम । देशमा परिवर्तनको हावा चलिसकेको छ । देश पूर्ण रुपले असफल भइसकेको हामी सबैले महसुस गरिसकेका छौँ । अब यो परिवर्तनको हावालाई हामी सबैले बुझेर आँधीहुरीमा परिणत हुने भन्दा पहिले हामी सबैले यो सदनलाई मैले पटकपटक अनुरोध गरिरहेको छु,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया