काठमाडौं । प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले जनताले संसद र सरकारमाथि के का आधारमा भरोसा गर्ने भन्दै प्रश्न गरेका छन् ।
सोमबार संसदमा बोल्दै सांसद श्रेष्ठले जनतामा निराशाको चाङ बढ्दै गएको भन्दै प्रश्न गरेका हुन् ।
‘चुरे पहाडको काखदेखि भारतीय सीमासम्म जोडिएको मेरो निर्वाचन क्षेत्रका जनताका समस्या मैले धेरैपटक यो संसदमा उठाएको छु तर कार्यान्वयन गर्ने सरकारले मेरो कुरा सुन्दैन,’ प्रश्न गर्दै उनले भने, ‘अब मलाई जिताएका जनताले यो संसद र सरकारमाथी केका आधारमा भरोसा गर्ने ?’
आफ्नो निर्वाचन क्षेत्रका जनताको आवश्यकताका बारेमा बोल्दै सांसद श्रेष्ठले भने, ‘अमलेखगञ्जका जनता पानी मागिरहेका छन्, चकरीका जनता बन्यजन्तुबाट जिउज्यान र बालीनालीको सुरक्षा मागिरहेका छन् ।
पथलैयाका जनता लालपुर्जा मागिरहेका छन् । सिमरा र परवानीपुरका जनता प्रदुषण मुक्त बस्ती मागिरहेका छन् । जीतपुरका जनता सुरक्षित व्यवसायिक वातावरण मागिरहेका छन् । पर्सौनी, फेटा र विश्रामपुरका जनताहरु खेतमा हाल्ने मल र सिंचाई मागिरहेका छन् ।’
तर सरकार फोस्रा भाषणले जनताको आँखामा छारो हाल्न व्यस्त रहेको उनको आरोप छ । ‘मेरो निर्वाचन क्षेत्रका जनताले यो संसद र सरकारप्रति के का आधारमा भरोसा गर्ने, सभामुख महोदय यो बडो चिन्ताको विषय छ ।’
संसदमा बोल्ने क्रममा सांसद श्रेष्ठले चैत १ गते बेलुका जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा घटेको घटनाप्रति गृहमन्त्रीको ध्यानाकर्षणसमेत गराएका छन् ।
चैत १ गते जितपुर सिमरा वडा नम्बर ७ का वडाध्यक्ष सुनिल गुप्ताले समाजसेवी परशुराम गिरी र नेपाली कांग्रेसका वडा सभापति राजेश गिरीको घरमा हुलहुज्जतसहित प्रवेश गरी कुटपिट गरेका थिए । उक्त घटनामा गिरीले आफू र आफ्नो परिवारको रक्षाका लागि लाइसेन्स प्राप्त बन्दुक निकाले एक राउण्ड हवाइ फायर गरेका थिए । यस घटनामा जिल्ला प्रशासन कार्यालय बाराले दोषीलाई उन्मुक्ति दिने गरी काम गरिरहेको भन्दै सांसद श्रेष्ठले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
‘राजनीतिक दबाबमा परेर घाईते पिडितलाईनै मुद्दा चलाउने र पिडकलाई उन्मुक्ती दिने कार्य बारा जिल्ला प्रशासनले गरेको छ । पञ्चायती शासनलाई समेत माथ ख्वाउने गरी बाराका सिडिओले काम गरिरहेका छन्,’ उनले भने, ‘म यस सम्मानित सदन मार्फत जीतपुर घटनाको सत्यतथ्य छानबीन गरी दोषिलाई कारवाहीको दायरामा ल्याउन गृहमन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया