काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज मंगलबार बिहान आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नेपाल प्रहरीको ३१औँ प्रमुखमा नियुक्त गरेको थियो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ३० वर्षे सेवाअवधि सकिन केही घण्टा बाँकी रहँदा बसेको मन्त्रिपरिषद् बैठकले दाबेदार तीन अतिरिक्त महानिरीक्षक (एआईजी)मध्ये पहिलो वरीयताका एआईजी थापालाई प्रहरी नेतृत्व सुम्पेको हो ।
यसअघि वरीयता मिचेर आईजीपी बनाउँदा सरकारले अपजसको भारी बोक्नुपरेको थियो । यद्यपि, अन्य दुई आकांक्षी सुदीप गिरी र टेकबहादुर तामाङभन्दा थापा दुई साताअघि मात्रै एआईजीमा बढुवा भएका थिए ।

थापा प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै दोस्रो र तेस्रो वरीयताका एआईजीहरू क्रमशः सुदीप गिरी र टेकबहादुर तामाङ अब एआईजीबाटै बिदा हुनेछन् । थापा, गिरी र तामाङले १९ भदौ २०५२ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट एकसाथ नेपाल प्रहरी जीवन सुरु गरेका थिए । हालको प्रहरी नियमावलीअनुसार थापा आगामी १८ भदौसम्म प्रहरी नेतृत्वमा रहनेछन् । संसद्मा दर्ता भएको प्रहरी ऐनको प्रस्तावित विधेयक यसबिचमा पास भए सबैको सेवा अवधि लम्बिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया