काठमाडौं । ९ महिनाअघि गत असारमा प्रतिनेपाली ऋण करिब ८३ हजार रुपैयाँ रहेकोमा अहिले बढेर करिब ९१ हजार रुपैयाँ पुगेको छ । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ९१ हजार रुपैयाँ बराबर पर्न आउँछ ।
गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । तर, गत फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४६.९१ प्रतिशत हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेकोमा यो जनसंख्याले गत फागुनसम्मको तिर्न बाँकी सार्वजनिक ऋणलाई भाग गर्दा उक्त तथ्यांक निकालिएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा जीडीपी ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब १५ अर्ब ५७ करोड (जीडीपीको २३.०६ प्रतिशत) र बाह्य १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ (जीडीपीको २३.८५ प्रतिशत) रहेको कार्यालयले बताएको छ ।
यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको छ । यसअनुसार फागुनसम्म ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण उठाएको छ ।
पछिल्लो दश वर्षको सार्वजनिक ऋणको अवस्था
२०७१-७२ –५ खर्ब ४० अर्ब
२०७२-७३ –६ खर्ब १५ अर्ब
२०७३-७४ – ६ खर्ब ९७ अर्ब
२०७४-७५ – ९ खर्ब १९ अर्ब
२०७५-७६ – १० खर्ब ४८ अर्ब
२०७६-७७ – १४ खर्ब ३३ अर्ब,
२०७७-७८ – १७ खर्ब ३७ अर्ब
२०७८-७९ – २० खर्ब १० अर्ब
२०७९-८० – २२ खर्ब ९५ अर्ब
२०८०-८१ – २४ खर्ब ३४ अर्ब
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया