जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा प्रदेश सरकार सहभागी नुहने बताएका छन् ।
जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारले एसइईका सम्बन्धमा राखेको चासो र गरेको निर्णय कार्यान्वयन नभएको भन्दै परीक्षा कार्यक्रममा सहभागी नहुने बताएका हुन् ।
यही फागुन २६ गते एसइईलाई मर्यादित तथा व्यवस्थित बनाउनका लागि परीक्षामा खटिने केन्द्राध्यक्ष गोलाप्रथाबाट छनोट गर्नुपर्ने र सो निर्णय प्रदेशका सबै जिल्ला परीक्षा समन्वय समितिले कार्यान्वयन गर्नुपर्ने निर्णय भएको थियो तर त्यसलाई बेवास्ता गरिएकाले प्रदेश सरकारका कुनै पनि निकाय परीक्षाका कुनै क्रियाकलापमा सहभागी नहुने स्पष्ट पारे ।
आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका प्रहरी प्रमुख एवं जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको रोहबरमा गोलाप्रथाबाट केन्द्राध्यक्ष तोक्नुपर्ने निर्णय भएको पनि विभिन्न शिक्षक संघ र संगठनले यसमा विरोध जनाएका थिए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने परीक्षा छनोट समितिको बैठकले गोलाप्रथाबाट नभई आफूखुसी केन्द्राध्यक्ष तोक्ने परिपाटी कायमै भएकाले बाध्य भएर यस्तो निर्णय गर्नुपरेको मुख्यमन्त्री सिंहले दाबी गरे ।
‘हामीले राष्ट्रिय परीक्षा बोर्डलाई जानकारी गराएर यस्तो निर्णय गरेका थियौँ तर प्रदेश सरकारकाले गरेको निर्णय कार्यान्वयन भएन । प्रदेश सरकारको भूमिका कमजोर बनाउने कार्य स्वीकार्य हुँदैन,‘ उनले भने । मधेस प्रदेशका आठ जिल्लाका एसइईमा ८८ हजार आठ सय ५८ जना परीक्षार्थी सहभागी हुने जानकारी दिँदै मुख्यमन्त्री सिंहले परीक्षाहलमा परीक्षार्थीबाट मोबाइल फेला परेमा जफत गर्नुपर्ने निर्णयलाई भने संघीय सरकारले सदर गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया