काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने र तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।
यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल २८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन र नेपाल नागरिकता दोस्रो संशोधन विधेयक सदनमा दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यी विधेयकहरुमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरी नागरिकता विधेयक पारित गरिनेछ ।
राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको मन्त्रीहरुले उत्तर दिने कार्यसूची छ । यस्तै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न विधेयक, २०८१ टेबुल हुनेछ ।
अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसुर तथा सजाय ( दोस्रो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया