तितरवितर राजावादी : न बलियो एजेण्डा, न एकता (भिडियोसहित)

फागुनको पहिलो साता पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति र फागुनको अन्तिम साता उनै ज्ञानेन्द्रको विमानस्थलदेखि निर्मलनिवासम्मको रिहर्सलपछि गणतन्त्रको जग नराम्ररी हल्लिएको छ ।

गणतन्त्रवादी दलका नेताहरु तर्सिएका छन्, राजावादीहरु हौसिएका छन् । आफूलाई गणतन्त्रको मुख्य मसिहा ठान्ने माओवादी केन्द्र सबैभन्दा बढी त्रसित देखिन्छ । तराई–मधेश केन्द्रित जागरण अभियान नै स्थगित गरेर काठमाडौं आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिनप्रतिदिन व्यक्तिगत रुपमा ज्ञानेन्द्रप्रति रुष्ट बनिरहेका छन् । पटकपटक मुलुकको नेतृत्व गरिसकेका प्रचण्ड ज्ञानेन्द्रप्रति तल्लोस्तरमै पुगेर गाली गरिरहेका छन् ।

यतिमात्रमा प्रचण्ड रोकिएका छैनन्, पूर्व राजा महाराजाहरुले बेश्यालयमा समेत पुगेर देशकै बेइज्जत गरेको भन्दै प्रचण्डले गाली बेइज्जतीका लागि तल्लै स्तरमा ओलिएका छन् । कुनै बेला अहिलेका राष्ट्रपति भन्दा उ बेलाका राजा महाराजाकै शान सौकत ठूलो थियो भन्ने प्रचण्डको पछिल्ला अभिव्यक्तिले उनी यति तर्सिएका छन् कि माओवादीसहितको समाजवादी मोर्चाले आगामी चैत १५ गते शक्ति प्रदर्शन गर्ने घोषणा नै गरेको छ ।

ज्ञानेन्द्रको अभिव्यक्ति र राजावादीहरुको उत्साहबारे सत्तारुढ दल एमाले समीक्षा गरिरहेको छ, कांग्रेस मौन देखिन्छ साथै अन्य दलहरु भने अलमल र अन्यौलमा देखिन्छ ।

सडकदेखि सदनसम्म दुवै ‘वादी’ यानेकी राजावादी र गणतन्त्रवादीहरुको आ–आफ्नै तर्क सुनिन्छ । राजावादीहरु गणतन्त्र स्थापनाको २ दशक पुग्नै लाग्दा अहिलेका दलहरुले देशलाई टाट पल्टाएको आरोप लगाइरहेका छन् । यता गणतन्त्रवादी दलहरु भने राजतन्त्रकालका घटनाहरुलाई जमिनमुनीबाट तरुल निकालेझैँ गरी उधिनिरहेका छन् ।

दुवैको तर्क सही तर गणतन्त्र स्थापनापछि राजावादी दल राप्रपा पटकपटक उनै गणतन्त्रवादीहरुसँग मिलेर सरकारमा सामेल भयो । सत्ता टिकाउन मात्र होइन आफ्नो शक्ति संचयका लागि उनै राजावादी र गणतन्त्रवादीहरु मिलेर हामी एकै हौँ भन्दै निर्वाचनमा समेत गठबन्धन गरे । अरु त अरु हरेक भागबण्डामा समेत दुवै वादीहरुको चोचोमोचो मिलिरहेको देखिन्छ । दुवै वादीहरु जनता र तिनका अधिकारलाई केन्द्रमा राखेर आन्दोलनलाई थप बलशाली बनाउने यत्न र प्रयन्तमा देखिन्छन् ।

अब कुरा गरौँ, राजा ल्याउन तम्सिएका राजावादीहरुको तयारी, पात्र र प्रवृत्तिबारे ।

अहिले राजतन्त्रको मुख्य वकालत गरिरहेका पात्र हुन् आफूलाई ज्ञानेन्द्र शाही बताउने ज्ञानबहादुर शाही । हाल उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद र प्रवक्ता समेत रहेका छन् । पछिल्ला दिनमा उनी राप्रपाको भन्दा बढी ज्ञानेन्द्र शाहको प्रवक्ता जस्ता देखिएका छन् । विवादित विगत, तथ्य र तर्क भन्दा आक्रामक शैलीमा गाली गर्ने प्रवृत्ति ।

राप्रपाका सांसद ज्ञानेन्द्र शाही

सामाजिक अभिव्यन्ता भन्दै पूराना दल र नेताहरुलाई गाली गर्दै एकाएक राप्रपामा प्रवेश गरी जुम्लाबाट निर्वाचित भए पनि उनको तर्क, शैली र प्रस्तुतीका कारण भने अहिले पनि निरन्तर विवादमा आइरहन्छन् । स्वंयम ज्ञानेन्द्र शाहले कस्तो राजतन्त्र भनेर मुख नखोलिसकेको अवस्थामा ज्ञानेन्द्र शाही भने सडकदेखि सदनसम्म राजतन्त्रको पक्षमा मरिमेटेर लागेका देखिन्छन् । जनतामा निराशा रहेको अवस्थामा त्यही निराशाको व्यापार गर्दै आफूलाई सामाजिक सञ्जालमा भाइरल बनाउँदै सांसदसम्म बनेका शाही सडक, सदनदेखि सामाजिक सञ्जालसम्म राजतन्त्रको वकालत गरिरहेका देखिन्छन्, सुनिन्छन् । राजाको प्रत्यक्ष शासन नदेखेका, नभोगेका सामाजिक सञ्जालबाटै उदाएका पात्र शाही तथ्य र तर्क भन्दा बढी सामाजिक सञ्जालको खपतका लागि पूर्व राजाको गुणगान र राजतन्त्रको वकालत गरिरहेका छन् ।

त्यस्तै उनीमात्र होइन राजतन्त्रको वकालत गर्ने राप्रपामा आयातित अर्का पात्र हुन् रविन्द्र मिश्र । पत्रकार रहँदा राम्रो छवि बनाएका मिश्र एकाएक वैकल्पिक राजनीतिको मुद्दा बोकेर राजनीतिमा आएसँगै उनी निरन्तर विवादमा आइरहने पात्र हुन् । जहाँ गयो त्यहाँ विग्रह ल्याउने आरोप खेप्ने गरेका मिश्र विवेकशील साझा पार्टीमा ठूलै विग्रह ल्याएर अहिले राप्रपाका वरिष्ठ उपाध्यक्ष छन् । पछिल्ला दिनहरुमा उनै मिश्र खरो रुपमा राजतन्त्रको वकालत गरिरहेका देखिन्छन् । अन्य पूराना पार्टी, तीनका नेता र नेता प्रवृत्तिको चर्को आलोचना गर्ने उनी आफ्नै पार्टी एकढिक्का र उदेश्य नै स्पष्ट नबनाइ आफू भने राजतन्त्रवादी दलतिर लहसिन पुगे । अहिले उनी सडकदेखि सामाजिक सञ्जालसम्म राजतन्त्रको वकालत गरिरहेका छन् । आन्दोलनका लागि राजतन्त्र पक्षधरहरुलाई उचालिरहेका छन् । उनले महेन्द्रदेखि ज्ञानेन्द्रसम्मको राजतन्त्र काल, राजतन्त्रदेखि गणतन्त्रसम्मका विभिन्न विषयहरु केलाएर राजतन्त्रको पक्षमा माहोल सिर्जना खोजिरहेका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र

उनी धेरैजसो गणतन्त्र र संघीयतामाथि प्रहार गरिरहेका देखिन्छन् । त्यसमाथि उनी प्रदेश संरचनामाथि झन खरो रुपमा टिप्पणी गरिरहेका सुनिन्छन् । तर उनकै दलले प्रदेश संरचनाको निर्वाचनमा लिने मात्र होइन सभामुखसम्ममा भाग खोजिरहेको छ । आफ्नै दलको नीति स्पष्ट नहुँदा जे कुरामा विरोध गरिरहेका छन् त्यही कुरामा दल मौन रहेको अवस्थामा उनी जसरी पनि राजसंस्था चाहिन्छ भन्दै आफ्नो अभिव्यक्तिहरु दिइरहेका देखिन्छन् ।

अहिले राजतन्त्र चाहिन्छ भन्ने आन्दोलनको एक पक्ष हुन् विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ ।

राजावादीहरुको एक मोर्चाको नेतृत्व गरिरहेका उनै प्रसाईँ आफ्नै बोली ठेगानमा लगाउन नसक्दा पटकपटक रिहासतसम्म पुगिसकेका छन् । तथ्य र तर्क भन्दा युवा जमातलाई उचाल्दै उदण्ड मच्चाउने प्रसाईँ न विगत विवादरहित थियो, न वर्तमान नै । आफ्नो व्यवसायलाई माथि उकास्न कहिले माओवादी त कहिले एमाले बनेका प्रसाईँ केही वर्षदेखि राजतन्त्रको वकालत गरिरहेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ

अहिले होइन, राजावादी दलहरुले आन्दोलन नै नगर्दा विभिन्न मुद्दासहित राजतन्त्रलाई मुख्य केन्द्रमा राखेर एक वर्ष अघि नै आन्दोलन गरे । तर भीडको लिड गर्न नजान्दा आन्दोलन नै तुहाएर नेतादेखि व्यवसायीसम्म तथानामा गाली गर्दै हिरासतसम्म पुगेका अहिले खरो राजावादी देखिन्छन् । उनले आफूलाई पूर्व राजाले साथ दिए ज्ञानेन्द्रलाई हात समातेर नारायणहिटीमा बसाउने भन्दै फितलो तर्क गरिरहेका देखिन्छन् । नेपालको वर्तमान अवस्थाप्रति आक्रोशित युवाहरुको आइकन बनेका प्रसाईँसँग न आगामी भविष्यको यथेष्ट योजना नै छ, न त आन्दोलनलाई सही दिशामा लैजाने ढंग नै । तर पनि उनी राजावादी आन्दोलनलाई एक ढिक्का बनाउने भन्दा पनि आफूलाई आन्दोलनको केन्द्र भागमा राख्ने योजना अनुसार अघि बढिरहेका देखिन्छन् ।

नेतृत्वको होडले तितरवितर राजावादी

यी माथी उल्लेख गरिएका केही आयातित राजावादीहरु भए । कुरा गरौँ पञ्चायकालिन राजावादीहरुको । पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिपछि अहिले चर्चामा छन्, पञ्चायतकालीन नेता एवं पूवं राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी । उमेरले ८६ वर्ष पुगेका उनै सुवेदी महेन्द्र, वीरेन्द्र हुँदै ज्ञानेन्द्रसम्म हालीमुहाली गरेका पात्र हुन् ।

महेन्द्रकालिन अवस्थामा नै मन्त्री बनेका सुवेदीको ज्ञानेन्द्रसँग कहिल्यै राम्रो सम्बन्ध रहन सकेन, जुन कुरा स्वंम सुवेदीले आफ्नो किताबमा प्रशंगहरु समेत खुलासा गरिसकेका छन् । तर पछिल्ला दिनहरुमा पूर्व राजा ज्ञानेन्द्रकै इरासामा आन्दोलनको नेतृत्व गर्न अघि सारिएपछि भने राजसंस्थाको वकालत गरिरहेका दलहरु भने रिसाएका छन् ।

सोमबार सुवेदीले आफ्नो नेतृत्वमा गठन गरिएको ‘संयुक्त जनआन्दोलन समिति’ बारे राजावादी दल राप्रपा र राप्रपा नेपालले असहमति जनाएका थिए । तर मंगलबार कार्यसम्पादन समिति बैठक बोलाएर कमल थापा नेतृत्वको राप्रपा नेपालले भने सुवेदीलाई नै सहयोग गर्ने बताएको छ । थापा नेतृत्वको राप्रपा नेपालले भने उक्त समितिले गर्ने जुनसुकै आन्दोलनमा पनि तन, मन र धनले सहयोग गर्ने बचन समेत दिएको छ । तर राप्रपा नेपालसँग न त्यतिधेरै जनमत छ, न त संसद्मा तागत नै । राजावादी धारका सबै जसो पूराना नेताहरु राप्रपामा नै रहेका छन् ।

यता राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले भने आफ्नै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ । मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले सुवेदीको आन्दोलनलाई लत्याउँदै स्वय लिङ्देनकै नेतृत्वमा आन्दोलनमा जाने निर्णय गरेको हो ।

यता सुवेदीले नेतृत्व गरेको समितिमा राप्रपाका महामन्त्री धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई भने थप जिम्मेवारी दिइएको छ । पछिल्ला दिनहरुमा पूर्वराजासँग महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसँग रहँदा अध्यक्ष लिङ्देनसँग त्यतिधेरै नभएको केही घटनाक्रमले पुष्टि गर्दछ । स्वंयम लिङ्देनले आफूसँग पूर्वराजा ज्ञानेन्द्रको भेट र कुराकानी नै नभएको लामो समय भएको बताएका छन् । २५ गतेको स्वागतका बेला समेत लिङ्देन भन्दा राणा र मिश्र बढी हाबी देखिँदा राप्रपामा विग्रहको संकेत देखिइरहेको देखिन्छ । यता राप्रपाका महामन्त्री राणा वरिष्ठ उपाध्यक्ष मिश्रले भने त्यसमा धेरै विरोध जनाएका थिएनन् । उता समितिमा मिश्रलाई सदस्यसचिव बनाइएपछि राजासँगकै संनिकटताका कारण आफू बाइपासमा पर्न सक्ने शंका लिङ्देनमा परेको देखिन्छ ।

अझ निर्देशक समिति अन्तर्गत हुने आन्दोलन परिचालन समितिका संयोजकमा उनै धवलशमशेर राणालाई बनाउने समेत घोषणा गरिएको थियो ।

त्यसमाथि राजावादी आन्दोलनका अर्का धार मानिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई समेत सुवेदीले समितिमा राखेका छन् । आफैँ आन्दोलनको नेतृत्व गर्ने तयारीमा रहेका प्रसाईँले सुवेदीसँगै मिलेर अघि बढ्छन् वा आफू आफ्नै नेतृत्वमा अघि बढ्छन् त्यो भने खुलाएका छैनन् ।

तर एकले अर्कोलाई स्वीकार नगर्नें राजावादीको आ–आफ्नै दम्भका कारण आन्दोलन तितरवितर बन्ने देखिएको छ । जसले गर्दा राजावादीहरुको उत्साहमा थप कमजोरी देखिन्छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह र पञ्चायतकालीन नेता नवराज सुवेदी

यता सुवेदी नेतृत्वको समितिले ४ वटा उदेश्य समेत किटान गरेको छ । हिन्दूराज्य, संवैधानिक राजतन्त्र त मुख्य एजेण्डा त हुने नै भयो । अर्का दुई संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्ने उदेश्यका साथ उक्त आन्दोलन गर्ने भनिएको छ ।

आज आन्दोलनका लागि नमिलेका राजावादी शक्तिहरु भोलि मिलेर संयुक्त आन्दोलनमै गए भने प्रदेश संरचनामा भाग लिएका सांसदहरु के गर्छन् ? भागबण्डा पाउँदा संघीयता नै स्वीकार्य हुने, राजावादी एजेण्डा बोक्दा त्यसमा विरोध जनाउने द्वेध चरित्रका कारण प्रश्न अहिले संसद्मा १४ सिटसहित प्रतिनिधित्व गरिरहेको राप्रपामा प्रश्न उठेको छ ।
अब अर्को कुरा गरौँ, ज्ञानेन्द्रलाई राजा बनाउँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सुवेदीको सपनाबारे ।

सुवेदी तीनै पात्र हुन् जसले ज्ञानेन्द्रले दरबारमा बसेर कुशासन गरेको विषय बाहिर किताब मार्फत् नै ल्याए ।

दरबार हत्या काण्डपछि ज्ञानेन्द्रको प्रत्यक्ष शासन समेत देखेका सुवेदीलाई ज्ञानेन्द्रकालीन सुशासन कस्तो थियो भन्ने पनि राम्रै हेक्का छ । विभिन्न काण्डहरुमा आफूले साथ नदिँदा अधिराजकुमार रहेका बेला ज्ञानेन्द्र आफूसँग मुख समेत नबोलेको किताब नै लेखेर उछित्तो काडेका उनै सुवेदी अहिले ज्ञानेन्द्रलाई गद्धीमा बसाउने सपना देखिरहँदा, ज्ञानेन्द्र र सुवेदीको सम्बन्ध थाहा पाउने जो कोहीलाई कुनै अचम्मै हुन लाग्यो जस्तो लागिरहेको छ ।

केन्द्रमा जनता दाँया गणतन्त्रवादी बाँया राजतन्त्रवादी । दुवैको शासन भोगेका जनताले अहिले आन्दोलन चाहिरहेका छैनन् । केही असन्तुष्टीहरु पक्कै देखिएका छन् । गणतन्त्र स्थापना गर्न जीवनको ठूलो उर्जा खर्चिएका जनता पुनः गणतान्त्रिक व्यवस्था बलियो बनाउने सडकमा आउन् भन्ने गणतन्त्रवादी दलहरुको आशा छ । यता यही गणतन्त्रले केही दिन नसकेको भन्दै पुनः राजतन्त्र फर्किनुपर्छ र राजतन्त्र फाल्ने तिनै जनता राजतन्त्रको पक्षमा आइदिउन् भन्ने राजावादीहरुको आशा छ । तर राजा ल्याउने आन्दोलनको नेतृत्व समेत कसले गर्ने भनेर होडबाजी र माथापच्छी गरिरहेका राजावादी र निर्वाचनपिच्छे जनता झुक्याएर पुनः साथ खोजेका गणतन्त्रवादी कसको आन्दोलनलाई साथ मिल्ला, जनता जर्नादन हुन् उनकै निर्णयमा भर पर्ला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?