प्राथमिकताको आधारमा योजना छनोट हुनेछन् : उपप्रधानमन्त्री सिंह

लोकपथ
14
Shares
फाइल तस्बिर

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राथमिकताको आधारमा आगामी आर्थिक वर्षमा योजनाहरू छनोट हुने बताएका छन् । बुधबारको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको अर्थतन्त्रलाई ध्यानमा राखेर व्यवहारिक रूपमा योजनाहरू छनोट गर्ने बताए । उनले बढी भन्दा बढीलाई फाइदा हुने गरी योजना छनोट गर्ने उनको भनाइ छ । योजना सम्पन्न गर्न धेरै रकम चाहिने र उपलब्ध श्रोत र साधनअनुसार काम गर्दै जाँदा काम केही सुस्त हुने बताए । 

उनले भने, ‘नेपालको अर्थतन्त्रको जुन अवस्था छ, त्यो अवस्थाका कारणले गर्दा हामी अलि व्यवहारिक पनि हुनुपर्छ । योजनाहरू छनोट गर्दा प्राथमिकताको आधारमा र बढी भन्दा बढीलाई फाइदा हुने गरी योजना यस पटक बजेटमा राखेर गर्दा राम्रो हुन्छ । योजना सम्पन्न गर्न धेरै रकम चाहिएको हुन्छ । उपलब्ध श्रोत र साधनअनुसार काम गर्दै जाँदा काम केही स्लो हुन्छ ।’

नदीमा सिधा ढल हाल्नेकुराको अन्त्य गर्न आफूले काम गरिरहेको बताए । सफा नदी बनाउनका लागि सरकारले बढी जोड दिइरहेको उनको भनाइ छ  । 

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले नयाँ सहर बनाउने योजनाअन्तर्गत १० वटा सहर पूर्ण रूपमा नबनाई अरू शहरको अवधारणा अघि नबढाउन सुझाव दिए ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको कार्यक्षेत्रको स्पष्टता आवश्यक भएको बताए । जनता आवास प्रदेशले पनि लागू गरेको भन्दै यसलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा तराई/मधेसका विपन्न वर्गलाई बजेट छुट्याएर रोजगारी दिने र घर पनि बनाउन पाउने व्यवस्था गर्नुपर्ने बताए । 

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सुमित्रा बिसीले नयाँ संसद् भवनको अनुगमन धेरै पटक गरिएको तर पूरा हुन नसकेको बताए । चैत्र १८ मा सम्झौताको समय सकिने र अझै सम्पन्न नभइसकेकाले समय थप्ने वा के गर्ने ? भन्दै प्रश्न गरे । नयाँ संसद् भवनको काम छिटो सक्नुपर्नेमा जोड दिए । 

बैठकमा समितिका अन्य सदस्यहरूले भूमिगत जल संरक्षण र भण्डारण गर्ने संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले नेपालमै रहेका श्रोत साधनको प्रयोग गरेर भौतिक संरचना बनाउनुपर्नेमा जोड दिए । उनीहरूले पहुँचका भरमा स्मार्ट सिटी लगायतका योजनाहरू छनोट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?