राजतन्त्र पुनःस्थापनाको बहस निरर्थक : शक्तिबहादुर बस्नेत

लोकपथ
259
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले इतिहासमा सीमित भएको राजतन्त्रको विषयमा संसद्मा बहस हुनुले संविधानमाथि चोट पुगेको बताएका छन् ।

बुधबार संसद् भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले जनतामा निहित सार्वभौम अधिकारलाई जन्मसिद्ध अधिकारको आधारमा राजसंस्थालाई बुझाउनुपर्ने भनी भएको बहसले संविधानमा चोट पुगेको बताएका हुन् ।

उनले संविधानमा व्यवस्था भएको जनतामा निहित सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने जिकिर गरे । नेपालमा लोकतन्त्र र राजतन्त्र सँगै जान नसक्ने निचोडका साथ आफ्नो पार्टीले २०४८ सालमा निर्णायक आन्दोलन घोषणा गरेको र दश वर्षे जनयुद्ध त्यसैका लागि भएको दाबी गरे ।

२०५९ सालको राजा ज्ञानेन्द्रको कदमपछि तत्कालीन संसद्मा भएका दलहरू लोकतन्त्रका लागि राजतन्त्र वाधक भएको निर्णयमा पुगेको उनको भनाइ छ । उनले सात दल र माओवादीसहितको सहकार्यमा गणतन्त्र स्थापना भएकाले अब पुनः राजतन्त्र स्थापना हुनुपर्ने भन्ने विषयमा भएका बहस निरर्थक रहेको आशय व्यक्त गरे ।

उपमहासचिव बस्नेतले वर्तमान सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेको भन्दै आफ्नै कारणले सरकार ढल्ने अवस्थामा पुगेको बताए । उनले सरकार परिवर्तन गर्ने खेलमा आफ्नो पार्टी नलागेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?