प्रभु साहको पार्टीले भन्यो : ओली सरकार असफल, राजीनामा देऊ 

लोकपथ
147
Shares

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । सो पार्टीले ओली नेतृत्वको सरकार र वर्तमान संविधान असफल भएको निष्कर्ष निकाल्दै देशलाई निकास दिन अन्तरिम सरकार गठन गरिनुपर्ने माग पनि गरेको छ । 

आजपा पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौँमा बसेको पदाधिकारी बैठकले यस्तो माग गरेको हो । आजपाले प्रधानमन्त्री ओलीसहित बहुमत मन्त्री कार्यसम्पादन मूल्यांकनमा फेल भएको र सरकार जनस्तरबाट अस्वीकृत एवं असफल भइसकेको जिकिरसमेत गरेको छ । 

‘वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरू नकारात्मक बनेको, वैदेशिक कूटनीतिक सम्बन्धहरू अवरुद्ध भएको, कार्यसम्पादन मूल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, सरकार आफैँ जनस्तरबाट अस्वीकृत भएको र सेवा प्रवाह, सुशासन एवं विकासका कामहरू गतिहीन भएकाले हरेक हिसाबले कमजोर एवं असफल सिद्ध भइसकेको सरकार तथा वर्तमान व्यवस्थाबाट ठोस निकास सम्भव नरहेको ठहरसहित प्रधानमन्त्रीलाई तत्काल नैतिकताका आधारमा राजीनामा गरी अन्तरिम सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकारसँग माग गरेको छ,’ बैठकपश्चात् आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी बैठकले दलाल दलतन्त्र र अहिलेको व्यवस्था खारेजका लागि आजपाद्वारा पूर्वघोषित तेस्रो जनआन्दोलन सफल बनाउन कमान्डर तोकेको छ । संविधान सभाका सदस्य तिलक थापा मगरको नेतृत्वमा सो पार्टीले तेस्रो जनआन्दोलन परिचालन समिति गठन गरेको हो । थापा आजपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका छन् । 

समितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, उपमहासचिव धनकुमारी मगर, सचिवद्वय उमेश कुशवाहा, देवी पण्डित र बागमती प्रदेश कमिटीका अध्यक्ष रमेश थपलिया सदस्य छन् । बैठकले महासचिव त्रिभुवन साहको संयोजकत्वमा व्यवस्थापन समिति, उपमहासचिव चन्द्रभूषण साहको कमान्डमा प्रचारप्रसार समिति, स्थायी कमिटी सदस्यद्वय रञ्जु साहको नेतृत्वमा आर्थिक समिति र आर्या पाण्डेको संयोजकत्वमा स्वयमसेवक समिति पनि गठन गर्ने निर्णय गरेको छ । 

‘दलतन्त्रविरुद्धको तेस्रो जनआन्दोलन सफल पारौँ, जनताको शासनसहित समृद्धिको पथमा अघि बढौँ!’ नारासहित पार्टी अध्यक्ष साहको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई सशक्त र कडा बनाउने निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?