गौर हत्याकाण्डका दोषीलाई कारबाही र पीडितलाई न्याय दिन आजपाद्वारा सरकारको ध्यानाकर्षण 

लोकपथ
322
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कानुनबमोजिम अविलम्ब कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष साहले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले गौर हत्याकाण्डको अनुसन्धान कहाँ पुग्यो ? भन्दै प्रश्न समेत गरे । यस हत्या काण्डबारे पीडितले जाहेरी दर्ता गराएको भए पनि सरकारले छानबिन नगरेको उनको आरोप छ । 

उनले भने, ‘म सरकारलाई सोध्न चाहन्छु, गौर हत्याकाण्ड जुन दिउँसो भएको बीभत्स हत्या थियो त्यसको छानबिन कहाँ पुग्यो ?’

रौतहटको गौरमा २०६३ साल चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालिक मधेसी जनअधिकार फोरम र तत्कालिक नेकपा माओवादीका कार्यकर्ताबिचको विवादले झडपको रूप लिएको थियो । त्यस क्रममा दुई दर्जनभन्दा बढी माओवादी कार्यकर्ताको ज्यान गएको थियो । घटनाबारे मृतकका परिवारले सोही वर्ष चैत २८ गते प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए । तर सरकारले अहिलेसम्म दोषी पत्ता लगाकाे छैन । अध्यक्ष साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संसद्को कार्यसूचीबाट हटाउनुपर्ने समेत बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?