काठमाडौं । प्रविधिको विकाससँगै जसरी स्मार्ट फोन र इलेक्ट्रोनिक्स डिभाइसको प्रयोग भइरहेको छ, यसको दुरुपयोग भयो भने परिवार र समाज मात्रै होइन, जीवनसमेत सकिन सक्ने खतरा पनि उत्तिकै छ । सम्बन्ध राम्रो हुँदा लिइएका अश्लील तस्बिर र भिडियो सम्बन्धमा उतारचढाव आउँदा दुरुपयोग भयो भने के होला ? परपुरुषसँग होटेलमा पुगेको भिडियो विदेशमा रहेका श्रीमानसम्म पुग्दा अवस्था कस्तो आउला ?
हो, यस्तै समस्या भोगिरहेकी छिन्, सिन्धुपाल्चोककी ३५ वर्षीया एक महिलाले । साइबर ब्युरो भोटाहिटीको मुद्दा शाखामा भेटिएकी ती महिला यतिबेला मर्नु न बाँच्नुको अवस्थामा पुगेकी छिन् । श्रीमानले कुन दिन घरबाट निकालेर सम्बन्धविच्छेदको मुद्दा दायर गर्ने हुन् थाहा छैन । त्यो भन्दा बढी चिन्ता त उनलाई सामाजिक बहिष्करण र बेइज्जतीको छ ।
किनभने करिब साँढे २ वर्षदेखि सम्बन्धमा रहेका भारतीय प्रेमीले नै उनीसँगको अन्तरङ्ग तस्बिर र भिडियो रोजगारीका लागि मलेसिया पुगेका श्रीमानलाई पठाइदिए । पछिल्लो समय महिलाले प्रेमीसँग यौन सम्बन्ध राख्न नमानेपछि रिसको आवेगमा तिनै प्रेमीले महिलाका श्रीमानलाई नै उक्त भिडियो पठाइदिए । त्यही कसुरमा यतिबेला महिलाका प्रेमी भनिएका भारतीय नागरिक ४१ वर्षीय नुनु राय साइबर ब्युरोको हिरासतमा छन् ।

जब महिलाको भिडियो श्रीमानको म्यासेन्जरमा आइपुग्यो …
सिन्धुपाल्चोककी ती महिला र भारतीय नागरिक नुनु रायको भेट कामको सिलसिलामा भएको थियो । भारतीय नागरिक नुनु राय सानो सानो घर बनाउने ठेक्का लिन्थे । घर बनाउने तथा घरभित्र रङरोगन गर्नेलगायतका ठेक्का लिने नुनुलाई काम गर्ने मान्छेहरू चाहिरहन्थ्यो ।
यता कामकै खोजीमा थिइन्, सिन्धुपाल्चोककी ३५ वर्षीया शर्मिला (नाम परिवर्तन) । दैनिक ज्याला मजदुरीमा भएपनि काम गरेर जीवन चलाउँछु भनेर कामको खोजीमा रहेकी शर्मिलाको भेट अर्की साथीमार्फत नुनुसँग भएको थियो ।
कामकै क्रममा नुनु रायसँग उनको दैनिक हुने भेटघाट बिस्तारै आत्मीय हुँदै गयो ।
भारतीय नागरिक नुनुको परिवार भारतमै रहेको र शर्मिलाको श्रीमान् पनि रोजगारीका लागि मलेसियामा रहेका कारण उनीहरू नजिकिँदै प्रेमी–प्रेमिका बने ।
प्रेमी प्रेमिका भएपछि शर्मिला र नुनुबिच आपसी सहमतिमै यौन सम्बन्धसमेत हुन थाल्यो भने शर्मिलाले नुनुको लुगा धोइदिनेदेखि घरायसी कामसमेत गरिदिन थालिन् । शर्मिला र नुनु बेलाबेलामा होटेलसम्म पुगेर बस्न थाले ।
सम्बन्ध एकदमै राम्रो भएको अवस्थामा नुनुले शर्मिला नग्न अवस्थामा रहेको समयमा भिडियोसमेत खिच्न भ्याए । ‘मेरो तिमी नै हो र तिम्रो म नै त हो’ भन्दै होटेलमा नुनुले जबरजस्ती खिचिएको त्यही भिडियो यतिबेला शर्मिलाको पारिवारिक विखण्डनको कारण बन्यो भने नुनुलाई प्रहरी हिरासतमा पुरायो ।
नुनुले यौन र श्रम शोषण गरेपछि बढ्यो विवाद
नुनु पेटी ठेकेदार थिए भने शर्मिला एक सामान्य मजदुर थिइन् । दैनिक ज्यालादारीमा काम गर्ने शर्मिलाले आफूले काम गरेबापत श्रमको मूल्य पाउनुपर्ने थियो ।
तर नुनुले शर्मिलाको आर्थिक अवस्थामाथि खेल्न थाले । प्रेमी बनेको आवरणमा सुरु सुरुमा केही पैसा दिएपनि पछि नुनुले शर्मिलालाई काम गरेको पूरै पैसा पनि दिन छाडे । बरु लुगा धुन लगाउने, आफ्नो यौन इच्छा पूरा गर्न मात्रै शर्मिलालाई प्रयोग गर्न थालेपछि शर्मिला बिस्तारै नुनुसँग टाढिन थालिन् ।

क्षेत्रपाटी नजिकै रहेको ढल्को नजिकै डेरा लिएर बस्ने नुनुको कोठामा शर्मिला जान छाडिन् भने नुनुको घर बनाउने काममा ज्यालामा काम गर्न पनि जान छाडिन् । बरु आफूले काम गरेको पैसा दिन नुनुलाई दबाब दिइन् । तर नुनुले पैसा दिने छाँटकाँट नदेखाएपछि शर्मिलाले पैसाको पनि माया मारेर बस्न थालिन् ।
तर आफ्नो यौन तृष्णा मेट्न नुनुले शर्मिलालाई प्रयोग गर्न खोजिरहे । तर शर्मिला टाढिन थालेपछि नुनुले डिजिटल मिस्युज गरी ब्ल्याकमेल गर्न खोजे । शर्मिलालाई फोन नै गरेर नग्न भिडियो तिम्रो परिवारलाई पठाइदिन्छु भन्दै धम्काए ।
तर शर्मिलालाई लागेन कि नुनु त्यति तल गिर्लान् भनेर । नुनुको धम्की बेवास्ता गर्दै बसेकी शर्मिलालाई एकाएक मलेसियाबाट श्रीमानको फोन आयो । होटेलमा कोसँग बसेकी थिइस् भन्दै नग्न भिडियो आफ्नै मोबाइलमा आइपुगेपछि शर्मिला छानाबाट खसेको जस्तै भइन् । शर्मिलालाई त्यो भिडियो कसले र कसरी खिचेको थियो भन्ने थाहा थियो । श्रीमानलाई विश्वास दिलाउन खोजे पनि शर्मिला सफल हुन सकिनन् ।
आफूमाथि भएको साइबर अपराध र धम्की तथा शोषणका सम्बन्धमा शर्मिलाले भोटाहिटीस्थित साइबर ब्युरोमा जाहेरी दिइन् । शर्मिलाको जाहेरीलगत्तै सक्रिय बनेको साइबर ब्युरोले फेसबुकमार्फत उक्त भिडियो पठाउने व्यक्तिको सम्पर्क नम्बर वा आईपी माग ग¥यो । यौन अपराध भएको कारण फेसबुकले समेत समयमै उक्त फेसबुक आईडी प्रयोग हुने आईपी एड्रेस र त्यससँग सम्बन्धित नम्बरसमेत उपलब्ध गरायो । त्यसलगत्तै साइबर ब्युरोले चैत ५ गते भारतीय नागरिक नुनु रायलाई निजको डेरा कोठाबाटै पक्राउ गरी यतिबेला साइबर ब्युरोले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया