काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । प्रतिनिधि सभा नियमावलीमै भएको व्यवस्था अनुसार प्रधानमन्त्रीसँग सांसदहरुको सवालजवाफ हुन लागेको हो ।
साहले आजको बैठकको शून्य समयमा बोल्दै आफ्नो यसअघिको प्रश्नको उत्तर प्रधानमन्त्रीले नदिएको भन्दै आजको कार्यक्रम बहिस्कार गर्ने चेतावनी दिए । त्यसो त अघिल्लो महिना प्रधानमन्त्रीमाथि कडा प्रश्न गरेपछि साहको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका थिएनन् । उल्टै साहमाथि कडा रुपमा प्रस्तुत भएका थिए ।
‘आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची राखिएको छ । सांसदले सोधेको प्रश्नको जवाफ नै नदिएको औचित्यहीन प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयोस् भन्ने म ध्यानाकर्षण गराउन चाहान्छु । हामी हेरिरहेका हुन्छौँ, मन्दिरमा मुर्ति छैन भने त्यो मन्दिर औचित्यहीन हुन्छ, कुनै काम नै हुँदैन । यदी देवी र देवताको आत्मा छैन भने त्यो मुर्तिको पनि काम हुँदैन । यदी कुनै प्रश्नको जवाफ छैन भने त्यो सवालजवाफको औचित्य छैन । सम्झाउन चाहान्छु, मैले सोधेको जवाफ सम्माननीय प्रधानमन्त्रीले दिन चाहनु भएन । सवाल प्रभु साहको होइन, सवाल प्रश्नोत्तरको हो । सम्माननीय सभामुखको सम्मान गर गरिमाको हो । सिंगै संसद्को हो, नियमावलीको प्रावधानको हो । त्यसप्रति उत्तरदायी हुनुपर्दथ्यो । त्यसरी उत्तरदायि नभएको कार्यक्रमको औचित्य छ जस्तो मलाई लाग्दैन । त्यसैले यो कार्यक्रमलाई कार्यसूचीबाट हटाउन म विशेष अनुरोध गर्दछु, यदी त्यो कार्यक्रम कार्यसूचीबाट हटाइएन भने म बहिस्कार गराउने घोषणा गर्दछु,’ उनले भनेका छन् ।
यो पनि
प्रधानमन्त्रीलाई प्रभु शाहका ८ कठिन प्रश्न : संसद्मै झपारे, दिएनन् उत्तर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया