काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग आफूले पटकपटक सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन नसकेको बताएका छन् ।
द्धन्दकालीन मुद्दालाई छिटो टुंगोमा पुर्याउनका लागि आफू प्रचण्डसँग भेटका लागि निरन्तर सम्पर्कमा रहे पनि भेट हुन नसकेको बताए ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । साथै आफू सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत् द्धन्दकालीन मुद्दाहरुलाई किनारामा पुर्याउने काममा लागि परेको समेत बताए ।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशाक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि म प्रयासरत छु । विपक्षी दलका नेतासँग सम्पर्क गर्न खोजिरहेको छु तर मैले पटकपटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नु भएको भन्ने जवाफ पाएको छु । उहाँसँग सम्पर्क हुने बित्तिकै काम अगाडि बढाइनेछ ।’
माओवादी सांसद विमला सुवेदीले प्रधानमन्त्री ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन हुन नसकेको भन्दै प्रश्न गरेकी थिइन् । ऐनमा व्यवस्था भएका आयोगहरु किन गठन नभएका हुन् ? भन्दै सांसद सुवेदीको प्रश्न थियो ।
सो प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रचण्डसँग भेट हुन नसकेका कारण काम अघि बढ्न नसकेको जवाफ दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया