काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा नरहेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकमाथि संशोधनकर्ता सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले आफू मन्त्री रहेसम्म अर्थ मन्त्रालय सुपर मिनिस्ट्री हो भन्ने भ्रममा नरहने स्पष्ट पारे । उनले विधेयकमा योजना आयोग र महालेखा परीक्षकको कार्यालयको भूमिकालाई संकुचन गर्न खोजेको सांसदहरूले लगाएको आरोप अस्वीकार गरे ।
उनले कसैको अधिकार संकुचन गर्नुभन्दा पनि बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले लिने गरी विधेयक निर्माण गरिएको जिकिर गरे ।
योजना आयोगको अधिकार कटौती नभई उसको भूमिकालाई थप स्पष्ट पारिएको मन्त्री पौडेलको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया