पूर्व प्रेमिकाको सासूलाई गर्भपतनको कागजात पठाइदिएपछि …

‘सासूले घरबाट निकालिन्, श्रीमानले सम्बन्ध विच्छेदको मुद्दा हाले’

काठमाडौं । सम्बन्धमा हुँदा सबै कुरा जायज हुन्छ । तर जब सम्बन्ध बिग्रन्छ र भनेको जस्तो हुँदैन, तब मानिसको दिमागमा अनेक प्रकारका रोग पस्न थाल्छन् । सम्बन्धमा हुँदा सहमतिमा भएका कुराहरू सम्बन्धमा उतारचढाव आउँदा छताछुल्ल पारियो भने के होला ?

हो, यस्तै भयो काभ्रेकी २६ वर्षीया निशा हमाल (नाम परिवर्तन) लाई । सम्बन्धमा हुँदा प्रेमीसँग भएका क्रियाकलापका प्रमाणहरू सम्बन्ध बिग्रिएपछि त्यही प्रेमीले निशाको सासूलाई पठाइदिए । प्रेम सम्बन्धमा हुँदा आफू गर्भवती भएको र उक्त गर्भ पतन गराएको प्रमाण प्रेमीले छद्म नामबाट सासूलाई नै पठाइदिएपछि यतिबेला निशा श्रीमानको घरबाट निकालामा मात्रै परिनन्, विदेशमा भएका श्रीमानले पनि सम्बन्ध विच्छेदको मुद्दा दायर गरिदिए ।

माइती र घरसमेत नजिकै भएकी निशालाई सासूले घरबाटै निकाला गरेको खबर एक कान दुई कान हुँदै गाउँभरि फैलियो । त्यसपछि निशा आफ्नो सामाजिक बेइज्जती भएको भन्दै माइतीघर पनि छाडेर यतिबेला काठमाडौंमा छिन् । आफूमाथि अन्याय गर्ने धोकेबाज र बदमास प्रेमीलाई कानुनी कारबाहीमा ल्याउन लडाइँ लड्दै छिन् ।

साइबर अपराध पीडितको एआईबाट बनाइएको तस्वीर

निशाको प्रेम सम्बन्ध

निशा काभ्रेकै एक संस्थामा प्रशासन सहायकका रूपमा काम गर्थिन् । कामका दौरान दैनिकजसो संस्थाका सञ्चालकसँग भेट हुन्थ्यो । संस्थाका सञ्चालक पनि चिनजानकै व्यक्ति थिए र गाउँघरकै व्यक्ति भएकाले निशालाई काम गर्न पनि सजिलो थियो ।
दुवै जना अविवाहितसमेत भएकाले हेलमेल बढी भयो र उनीहरू एक आपसमा प्रेम सम्बन्धमा गाँसिए ।

निशाले २०७५ सालदेखि नै काम गर्ने संस्थाका सञ्चालक रेशम मगर (पहिचान खुल्न सक्ने भएकाले नाम परिवर्तन गरिएको) ले निशालाई प्रेम प्रस्ताव राखे । भविष्यमा विवाह नै गर्ने भन्दै उनीहरू नजिकिए । प्रेम सम्बन्धमा रहेको समयमा उनीहरू काठमाडौं, भक्तपुर, काभ्रेलगायत जिल्लाका विभिन्न रिसोर्ट तथा होटेलहरुमा गई बसोबास गरे भने उनीहरूबिच यौन सम्बन्धसमेत भयो ।

प्रेम सम्बन्ध राम्रै चलिरहेको समयमा निशाको महिनावारी रोकियो । दुई महिनासम्म पनि महिनावारी नभएपछि निशाले गर्भ जाँच गराइन् । गर्भ जाँच गराउँदा उनी गर्भवती भएको खुल्यो । त्यतिबेलासम्म गर्भ करिब दुई महिनाको भइसकेको कारण रेशम र निशा दुबै जना भक्तपुरको डा. इवामुरा अस्पतालमा पुगेर गर्भपतन गराए । यो घटना थियो, २०७९ साउन २१ गतेको ।
त्यसपछि पनि उनीहरूबिच सम्बन्ध राम्रै चलिरहेको थियो । प्रेम सम्बन्ध झन् प्रगाढ हुँदै गइरहेको थियो भने उनीहरू विवाह गर्ने भनेर बसेका थिए ।

यता निशाको उमेर बढ्दै गएको भन्दै परिवारले विवाह गर्नका लागि निशालाई दबाब दिन थाले । परिवारले विवाहका लागि दबाब दिएको भन्दै निशाले अब विवाह गर्नुपर्छ भन्दै रेशमलाई पनि दबाब दिन थालिन् । तर रेशम अझै पनि निशासँग विवाह गर्ने मुडमा देखिएनन् ।

रेशमले तत्काल विवाह गर्न नसक्ने भनेपछि निशाले रेशमसँग सल्लाह नै गरेर अर्को केटा खोजेर भएपनि विवाह गर्ने बताइन् । सुरुमा निशाले अरू युवकसँग विवाह गर्न रेशमले सहमति जनाए । रेशमले सहमति दिएपछि निशाले परिवारले खोजेको गाउँ नजिकैको एक युवकसँग विवाह गर्ने भइन् । त्यसको जानकारी पनि निशाले रेशमलाई दिइन् ।

तर विवाहका लागि इन्गेजमेन्ट भइसकेपछि रेशमले निशालाई तनाव दिन थाले । विवाह नगर्नका लागि दबाबसमेत दिन थाले । तर निशाले अब ब्याक हुन नसक्ने भन्दै टिकाटालो (इन्गेजमेन्ट) भएको युवकसँग नै विवाह गर्ने बताइन् । यता रेशमले पनि निशाले विवाह गर्नुभन्दा एक दिन अगाडि मात्रै अर्की केटी खोजेर विवाह गरे ।

दुवैको विवाह भयो र केही समय आ-आफ्नै परिवारमा व्यस्त रहे । तर जब निशाका पति वैदेशिक रोजगारीका लागि अर्को मुलुक गए, तब रेशमले निशालाई फोन गरेर तनाव दिन थाले । विवाह गर्ने भएपछि निशाले संस्थामा जागिर समेत छाडिसकेकीले रेशम र निशाको भेटसमेत नहुने भएकाले रेशमले सुरुमा फोन मार्फत नै बाहिर होटेल तथा रिसोर्टमा गएर रात बिताउन र यौन सम्बन्ध कायम गर्न दबाब दिइरहे ।

तर निशाले आफ्नो विवाह भइसकेकाले अब पहिलेजस्तो अवस्था नरहेको भन्दै इन्कार गरिन् । त्यसपछि रिसाएका रेशमले निशालाई ठिक पार्ने भन्दै धम्की दिएका थिए । तर पनि निशाले रेशमको धम्की चुपचाप सहेर मात्रै बसिन् ।

जब गर्भपतनको कागजात निशाको सासूको म्यासेन्जरमा पुग्यो …

नवविवाहित बुहारी (निशा)लाई गाली गर्दै सासूले तत्काल घर छाड्न निर्देशन दिइन् ……

विवाहको केही समयपछि निशाका पति तेस्रो मुलुक गएपनि निशा भने सासू ससुरासँगै पतिको घरमै थिइन् । तर करिब एक महिना पहिले मात्रै नवविवाहित बुहारी (निशा)लाई गाली गर्दै सासूले तत्काल घर छाड्न निर्देशन दिइन् । निशाले कारण खोज्दा ‘कारण तिमीलाई नै थाहा छ, मेरो घरमा बस्नु पर्दैन’ भन्दै घर निकालामा परेपछि निशा आफ्नो माइती घर पुगिन् ।

माइतीमा पुगेर आफूलाई सासूले घर निकाला गरेको बताएपछि निशाका दाजु बहिनीलाई दिएको घरमा पुगेर कारण खोजे । निशाको सासूले निशा अरू नै कोही व्यक्तिसँग सम्बन्धमा रहेको पाइएको र पहिले नै गर्भपतनसमेत गराइसकेको कारण आफूसँगै राख्न नसक्ने बताइन् ।

निशाका दाजुले ती कागजात कसले कसरी उपलब्ध गराएको हो भन्दै उनकी सासूसँग कागजात माग गरे । सासूले ती सबै कागजात राजा सिंह ठकुरीले पठाएको भन्दै उक्त म्यासेज पठाउने कथित राजा सिंह ठकुरीको फेसबुकको प्रोफाइल लिंकसमेत दिइन् ।

अनि निशाले रेशमलाई नै घटनाबारे भनिन् …
आफूमाथि के के भयो भनेर निशाले पूर्व प्रेमी रेशमलाई नै घटनाबारे बताउँदै कतै तपाईंले नै गरेको त होइन भन्दै प्रश्न गरिन् । रेशमले आफूले कहिल्यै त्यस्तो नगर्ने भन्दै त्यसबाट आफ्नो पनि बेइज्जत हुने भन्दै राजा सिंह ठकुरी भन्ने मान्छेको खोजी गर्नुपर्‍यो भने ।

त्यसपछि निशा काठमाडौं आएर राजा सिंह ठकुरी नाम गरेका व्यक्तिले आफ्नो सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार खोसेको र साइबर क्राइम गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिइन् ।

निशाको पारिवारिक जीवनसँगै व्यक्तिगत जीवन पनि खतरामा परेको संकेत पाएपछि साइबर ब्युरोले उक्त उजुरीलाई गम्भीरतापूर्वक लिई अनुसन्धान सुरु गर्‍यो ।

अपराध गर्ने व्यक्ति पूर्व प्रेमी नै भेटिए …

भोटाहिटीस्थित साइबर ब्युरोका अनुसन्धान अधिकृत इन्स्पेक्टर राजकुमार खड्गीले आफ्नो टोली परिचालन गरेर उक्त फेसबुक आईडीका वास्तविक प्रयोगकर्ताको खोजी सुरु गरे । त्यसका लागि फेसबुकलाई साइबर अपराधसँग सम्बन्धित प्रमाण पठाउँदै तत्काल विवरण उपलब्ध गराइदिन आग्रह गरे ।

फेसबुकले पनि साइबर ब्युरोको निवेदनलाई प्राथमिकतामा राख्दै उक्त निवेदनसँग सम्बन्धित राजा सिंह ठकुरीको आईपी एड्रेस उपलब्ध गरायो । साथै आईपी एड्रेससँग सम्बन्धित सेवा प्रदायकको विवरणसमेत पठाइदियो ।

अपराध गर्ने व्यक्ति खोज्दै जाँदा त अपराधी खोज्नुपर्छ भन्ने व्यक्ति नै अपराधी भेटिए ……

त्यसपछि साइबर ब्युरोले आईपी एड्रेसका आधारमा उक्त फेसबुक प्रयोगकर्ताको लोकेसन र सम्बन्धित फोन नम्बर माग गर्‍यो ।
ब्युरोका अनुसन्धान अधिकृत इन्स्पेक्टर खड्गीले लोकपथसँग भने, ‘अपराध गर्ने व्यक्ति खोज्दै जाँदा त अपराधी खोज्नुपर्छ भन्ने व्यक्ति नै अपराधी भेटिए । पीडित महिलाको सासूलाई गर्भपतनका कागजात पठाइदिने व्यक्ति त पीडितकै पूर्व प्रेमी पो निस्किए ।’

पक्राउ परेका आरोपित निशाका पूर्वप्रेमी परिवर्तित नाम रेशम मगर

निशाका पूर्व प्रेमी रेशम नै साइबार अपराधमा संलग्न रहेको पत्ता लागेपछि साइबर ब्युरोले रेशमलाई बुधबार साँझ मात्रै काभ्रेबाट पक्राउ गरेको छ । पक्राउ परेका आरोपितले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेका छन् । यता आफूमाथि अत्याचार गर्ने व्यक्ति आफ्नै पूर्व प्रेमी रहेको खुलेपछि निशाले पनि पूर्व प्रेमीविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएकी छिन् । आरोपितमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारबाही गर्न ब्युरोले अनुसन्धान सुरु गरेको छ ।

सञ्जालको दुरुपयोग बढ्यो : डीआईजी अर्याल

साइबर ब्युरोका प्रमुखसमेत रहेका डीआईजी नविन्द अर्याल पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको बताउँछन् । सामाजिक सञ्जालको दुरुपयोग बढ्दा अधिकांश समय र स्थानमा महिला नै पीडित बन्ने गरेको उनको भनाइ छ । डीआईजी अर्याल भन्छन्, ‘साइबर अपराध र डिजिटल मिसयुजको प्याट्रन हेर्दा अधिकांश घटनामा महिला तथा बालिका पीडित छन् । यस्ता घटनाको पीडक भने सहकर्मी, एउटै कक्षाकोठामा पढ्ने व्यक्ति, परिवारकै सदस्य, जेठाजुलगायतका व्यक्तिहरू भेटिएका छन् । त्यसबाहेक सामाजिक सञ्जालबाटै चिनजान भएका व्यक्तिहरूले पनि कतिपयलाई पीडित बनाएको पाइएको छ ।’

बढ्दो छ डिजिटल अरेस्ट
पछिल्लो समय साइबर अपराधका घटनाहरूमा सबैभन्दा बढी डिजिटल अरेस्टको प्रयोग भएको डीआईजी अर्यालले बताए । डिजिटल अरेस्ट भन्नाले पहिले आदानप्रदान भएका नग्न फोटो, भिडियो वा प्रमाणहरूलाई लिई बार्गेनिङ गर्ने, धम्काउने, आर्थिक लाभ लिने र आफूले भनेको गर्न बाध्य पार्ने कार्य हुन् । पहिले सामाजिक सञ्जालबाट चिनजान गर्ने, लोभलालच पनि देखाउने, माया गरेको जस्तो पनि देखाउने, त्यसपछि पीडितको नग्न फोटो, भिडियोहरू माग गर्ने र पछि त्यसैलाई प्रयोग गरेर बार्गेनिङ गर्ने र धम्काउने गरेको पाइएको डीआईजी अर्यालले बताए । यसरी बार्गेनिङ गर्नुको उद्देश्य भनेको अधिकांशमा आर्थिक लाभ लिने पाइएको र केहीमा सेक्स एक्सटर्सन समेत रहेको अर्यालले बताए ।

प्रेमी-प्रेमिकाबाट पनि हुन्छ डिजिटल अरेस्ट

कतिपय घटनाहरूको अध्ययन गर्दा डिजिटल अरेस्टमा परेकाहरूमध्ये पूर्व प्रेमी वा प्रेमिकासमेत रहेको पाइएको अर्यालले बताए । पहिले सम्बन्धमा हुँदा लिइएका वा आदानप्रदान भएका फोटो र भिडियोहरू एकले विवाह गरेपछि ६-७ महिनापछि त्यही पठाएर सेक्स एक्सटर्सन वा डिजिटल अरेस्ट गर्ने गरिएको पाइएको हो ।

१४ देखि २५ वर्ष उमेर समूहका बालिका र युवती बढी पीडित

डिजिटल अरेस्ट वा साइबर अपराधमा पहिले गृहिणी महिलाहरू बढी पीडित हुने गरेकामा अहिले भने त्यसमा केही कमी आएको डीआईजी अर्यालले बताए । तर पछिल्लो समय डिजिटल अरेस्ट, साइबरमार्फत हुने आर्थिक अपराध आदिमा १४ देखि २५ वर्ष उमेर समूहका बालिका र युवतीहरू बढी पीडित बन्ने गरेको भन्दै यी उमेर समूहका बालिकामाथि अभिभावकले निगरानी गर्नुपर्ने बताए । साथै उमेर पुगेका युवतीहरू समेत डिजिटल अरेस्टको सिकार भएको भन्दै अश्लील सामाग्री आदानप्रदान गर्न नहुनेमा सजग हुनुपर्ने बताए । साथै प्रयोग हुने सामाजिक सञ्जालको नेपालमै कार्यालय नभएसम्म र उमेरअनुसार आफैँ फिल्टर हुने वा अनावश्यक साइट नखुल्ने नबनाएसम्म साइबर अपराधमा कमी ल्याउन नसकिने अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?