रवि लामिछानेले भने– ‘मुलुक गम्भीर अवस्थामा छ, गेट रेडि फर द रेभुलेसन’

लोकपथ
1.4k
Shares

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एउटा छुट्टै क्रान्तिका लागि तयार रहन आग्रह गरेका छन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिन उपस्थित हुँदा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले सो कुरा बताएका हुन् ।

‘समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु । गेट रेडि फर द रेभुलेसन,’ लामिछानेले भने ।

त्यस्तै पछिल्लो समय राजावादीहरुको आन्दोलनसहितका घटनाक्रमबारे उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मौन रहेको आरोप रहेको छ । सो विषयमा प्रतिक्रिया दिँदै लामिछानेले आफ्नो बोल्ने समय नआएको समेत बताए ।

सञ्चारकर्मीहरुको जिज्ञासामा लामिछानेले भने, ‘मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ । अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला । म बोल्यो भनेर गाह्रो भएको होला । जब बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली चाहिँ बन्द हुन्छ ।’
त्यस्तै मुलुक गम्भीर अवस्थामा रहेको जनाउँदै दिँदै लामिछानेले त्यसबारे आफूले आवेग र उत्तेजनामा आएर अभिव्यक्ति नदिने समेत बताए ।

‘म आवेग, उत्तेजनामा छैन । मुलुक एउटा गम्भीर अवस्थामा आएको छ,’ लामिछानेले भने, ‘एउटा जिम्मेवार राजनीतिक दलका हिसाबले, नेपाली जनताले आशा र भरोसाको रुपमा हेरेको दलको हिसाबले म कुनै आवेग वा उत्तेजनामा आएर अभिव्यक्ति दिने पक्षमा छैन ।’

गत कार्तिक २ गते लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ र विभिन्न अदालतको आदेशपछि उनी हरेक विषयवस्तुमा मौन रहेका छन् । सांसद पद समेत निलम्बन रहेको अवस्थामा उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै लामिछाने मौन देखिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?