नवराज सुवेदीको बैठकमा पुगे राणा र मिश्र, राप्रपामा विग्रहको संकेत !

लोकपथ
20.8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विग्रहको संकेत देखिएको छ । खासगरी राजावादी आन्दोलनको विषयलाई लिएर नेताहरुबिच देखिएको मत भिन्नताले त्यस्तो संकेत देखिएको हो ।

गत सोमबार पूर्वमन्त्री समेत रहेका पञ्चायतकालीन नेता नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन परिचालन समिति गठन भएको थियो । उक्त समितिमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित महामन्त्री डा. धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र समेत सहभागि रहेका थिए ।

तर लिङ्देनले भने आफू र राप्रपा त्यसमा सामेल नरहेको बताएका थिए । मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अध्यक्ष लिङ्देनकै अध्यक्षतामा राप्रपा आन्दोलनमा जाने निर्णय गरेको थियो । साथै आगामी चैत १२ गतेअध्यक्ष लिङ्देनको अध्यक्षतामा बैठक बसेर आन्दोलनका थप कार्यक्रमहरु अघि बढाउने निर्णय गरेको थियो ।

तर आज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिको बैठकमा महामन्त्री राणा र वरिष्ठ उपाध्यक्ष मिश्र सहभागि रहेका छन् ।

राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले सुवेदीको नेतृत्वमा रहेको परिचालन समितिको बैठकमा दुई नेताहरु सहभागि रहेको तस्बिर सार्वजनिक गरेका हुन् ।

त्यसो त उक्त परिचालन समितिको सदस्यसचिवमा मिश्र र आन्दोलन परिचालन समितिको संयोजकमा राणालाई राखिएको थियो । आजको बैठक नै राणको अध्यक्षतामा बसेको पाठकले बताएका छन् ।

‘संयुक्त जनआन्दोलन परिचालन समितिका अध्यक्ष नवराज सुवेदीज्यूको प्रमुख आतिथ्यतामा आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणाको अध्यक्षतामा आज बसेको बैठक,’ उनले तस्बिरहरु सार्वजनिक गर्दैै सामाजिक सञ्जालमा लेखेका छन् ।

यता पूर्वराजा ज्ञानेन्द्र शाहकै इसारामा सुवेदीले आफ्नो नेतृत्वमा संयुक्त जनआन्दोलन परिचालन समिति गठन गरेको बताइएको छ । तर सुवेदी स्वयले भने आफूले राजावादी शक्तिहरुलाई एक बनाउनका लागि समिति बनाएको स्पष्टीकरण दिँदै आएका छन् ।

त्यसो त पछिल्ला दिनहरुमा राणा र मिश्रको पूर्व राजा ज्ञानेन्द्रसँग निकटता रहेको समेत बताइन्छ । पार्टीले बैठक नै बोलाएर अध्यक्षको नेतृत्वमा आन्दोलनमा जाने निर्णय गरिसक्दा पनि महामन्त्री, वरिष्ठ उपाध्यक्षसहित केही केन्द्रीय नेताहरु नै सुवेदीको बैठकमा सहभागि हुँदा पार्टीभित्र विमत्तिहरु रहेको बुझ्न सकिन्छ ।

यो पनि…

तितरवितर राजावादी : न बलियो एजेण्डा, न एकता (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?