अमेरिकामा वंशजको आधारमा नेपाली नागरिकताको खोजी

लोकपथ
553
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) च्याप्टर र ‘नागरिकता खोई अभियान’ ले शनिबार क्यालीफोर्नियाको सान फ्रांसिस्कोमा आयोजना गरेको कार्यक्रममा प्रवासी नेपालीहरुले गैरआवासीय नेपाली नागरिकतालाई सरकारी निकायले अवमूल्यन गरेको कारण पुरानै नागरिकताको निरन्तरता हुनुपर्ने माग गरेका छन् ।

‘नागरिकता खोइ अभियान’का संयोजक वासुदेव घिमिरले विगत डेढ वर्षमा नेपालमा रहेर व्यवसाय गर्दा पनि गैरआवासीय नागरिकता लिएपछि सरकारी निकायहरुले नै सास्ती दिएको टिप्पणी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिले जन्मसिद्ध रुपमा प्राप्त गरेको वंशजकै नागरिकता निरन्तरता दिँदा नेपाल सरकारलाई कुनै पनि कोणबाट हानी नहुने उल्लेख गरे ।

वंशजको नागरिकता निरन्तरता दिइएमा विदेशमा रहेका धेरै नेपालीहरुले नेपालमा निर्धक्क व्यवसायमा लगानी गर्ने, अवकाश जीवन बिताउन जाने हुँदा त्यसबाट नेपाललाई अरबौँ डलर रेमिट्यान्स, लगानीका रुपमा प्राप्त हुने बताए । अभियानलाई अघि बढाउने सन्दर्भमा हालसम्म राजनीतिक दलका नेताहरु, सांसद्हरुलाई भेटेर वंशजको नागरिकता निरन्तरता दिँदा देशलाई कुनै हानी नपुग्ने विषयमा अवगत गराएको समेत उनले उल्लेख गरे ।

सोही अवसरमा विगत झण्डै डेढ वर्षअघि अमेरिका छाडेर नेपाल फर्किएका पत्रकार तारा बरालले एनआरएन नागरिकता लिँदा आफूले पाएको सास्तीको वर्णन गर्दै वंशजको नागरिकतालाई निरन्तरता दिँदा नेपाललाई कुनै हानी नपुग्ने बरु फाइदा नै हुने चर्चा गरे ।

नेपालमा राज्य सञ्चालन गर्ने राजनीतिक नेतृत्व, कर्मचारीतन्त्रले प्रवासी नेपालीहरुलाई नागरिकता निगाहा, बक्सिसका रुपमा व्यवहार गरिरहेको महसुस भएकोसमेत बरालले उल्लेख गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका आईसीसी मेम्बर उत्तम कार्की ,पूर्ण बानीय (एनआरएनए) अमेरिकाका संरक्षक समिति सदस्य दिक्षा बस्नेत, बोर्ड सदस्य रितादेवी प्रधान, नेपाली जनसम्पर्क समिति क्यालीफोर्निया च्याप्टरका सभापति नारायण खनाल, नेपाली एसोसियशन अफ नर्देन क्यालीफोर्नियाका अध्यक्ष प्रितेश कार्की तामाङ एशोसियशन क्यालीफोर्नियाका अध्यक्ष सुरज पाख्रीन, (एनआरएनए) अमेरिकाका पश्चिम ब्यूरो प्रमुख बिष्णु खत्री र च्याप्टर कोषाध्यक्ष तेजेन्द्र बरालले एनआरएनले हालसम्म गरिरहेको पहलको विषयमा जानकारी गराएका थिए ।

प्रवासी नेपालीहरुलाई दिने नागरिकताको सवालमा नेपाल उदार हुनुपर्ने र कैयौँ देशका कार्यकारी प्रमुखहरुसमेत दोहोरो नागरिकताधारी रहेको वर्तमान सन्दर्भमा नेपाल भने अनुदार भएर १९ औँ शताब्दीको सोच बोकेर बस्नु सर्वथा अनुचित रहेको वक्ताहरुले बताएका थिए ।

कार्यक्रममा संचालक जनकराज ढुँगानाले गैरआवासीय नेपाली संघभित्र दलगत राजनीति स्वार्थको कारण यसले बोकेका मुद्दाहरु कमजोर र छिन्नभिन्न हुनु दुःखद भएको चर्चा गर्दै वंशजको नागरिकताको निरन्तरता अहिलेसम्मको सबैभन्दा प्रभावकारी हुने बताए ।

सो अवसरमा सहभागीहरु राजनीतिक नेतृत्वलाई प्रवासबाट गतिलो दबाब नपुग्दा र एनआरएनभित्र पदको छिनाझप्टीले गर्दा मूल मुद्दा ओझेलमा परेको धारणा राखेका थिए ।

सो अवसरमा सहभागीहरु राजनीतिक नेतृत्वलाई प्रवासबाट गतिलो दबाब नपुग्दा र एनआरएनभित्र पदको छिनाझप्टीले गर्दा मूल मुद्दा ओझेलमा परेको धारणा कार्यक्रमका सभापतिले राखेका थिए ।

एनआरएनए क्यालीफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली समुदायको ब्यापक सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?