गण्डकी । पर्यटकीय राजधानी पोखरामा शनिबारदेखि ‘पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना हुने भएको छ ।
पोखरा थिएटरको आयोजनामा हुने महोत्सव चार दिनसम्म सञ्चालन हुने महोत्सवका निर्देशक माधव कार्की (परिवर्तन) ले पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।
उनले पोखरालाई अन्तरराष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले नाटक महोत्वस आयोजना गर्न लागिएको बताए । पोखरा थिएटरमा हुने महोत्सवमा नेपालसहित चीन, ट्युनिसिया, नर्वे, जापानलगायत देशका नाटकहरू मञ्चन हुने जनाइएको छ ।
‘महोत्सवमा विभिन्न विधाका छ नाटक प्रस्तुत हुनेछन्, पोखरालाई सांस्कृतिक पर्यटनका हिसाबले पनि चिनाउन यो महोत्सवले सघाउ पुर्याउनेछ,’ निर्देशक परिवर्तनले भने, ‘मौलिक लोकधुनको प्रस्तुति, प्रदर्शनी, नाटक कार्यशालालगायतका कार्यक्रमलाई पनि महोत्सवमा समेटिएको छ ।’
नाटक हेर्न आउने दर्शकलाई टिकटको प्रबन्ध गरिएको छ । महोत्सवमा कलाकार, रङ्गकर्मी, पर्यटन व्यवसायी र संस्कृतिप्रेमीहरूबीच नेपाली नाटक परम्पराबारे अन्तरक्रिया हुने आयोजकले जनाएको छ ।
महोत्सव आयोजना गर्न ३० लाख खर्च लाग्ने अनुमान गरिएको पोखरा थिएटरले जनाएको छ । पोखरा महानगरपालिका महोत्सव प्रवर्द्धकका रूपमा रहेको छ ।
यसअघि विसं २०७५ मा पहिलोपटक पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव गरिएको थियो ।
महोत्सवको पहिलो दिन शनिबार पोखरा थिएटरको प्रस्तुतिमा उद्घाटन नाटकस्वरूप मुनामदन नाटक मञ्चन गरिने निर्देशक परिवर्तनले जानकारी दिए । महोत्सवमा विभिन्न देशका कलाकार तथा नाट्यकर्मीहरूको सहभागिता रहने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया