काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदान पानीको संरक्षण गर्न आवश्यकता रहेको बताएका छन् ।
उनले विश्व पानी दिवस, २०२५ (२२ मार्च)को अवसरमा शुभकामना व्यक्त गर्दै भावी पुस्ताहरूको सुरक्षित र समृद्ध जीवनका लागि पानीको संरक्षण जरुरी रहेको बताए ।
‘पानी बिना जीवनको कल्पनासम्म गर्न सकिन्न । पानीको संरक्षण र यसको समुचित उपयोगका लागि सक्दो प्रयास र सार्थक पहल गर्दै भावी पिँढीका लागि सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउन एकजुट भई अग्रसर हुन आवश्यक छ,‘उनले भने।
सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसंघको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग पुग्दछ ।
उपराष्ट्रपति यादवले बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी संकट उत्पन्न हुने बताए। त्यसैगरी, पानीको कमजोर व्यवस्थापन, प्रदूषण, अपर्याप्त संरचना, सरोकारवालाको सहभागितामा कमी, माटो क्षयीकरणलगायतले पनि पानीको संकट गहिरिँदै गएको उनको भनाइ छ ।
उनले भने, ‘पानीको अपर्याप्तताले पारिस्थितिक प्रणालीलाई अवरोध सिर्जना गर्दै खाद्य र पानी सुरक्षालाई संकटमा पार्न सक्ने छ, नेपालमा पानीको स्रोतको स्तर तीव्र रूपमा घट्दो छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया