भीरकोटमा दुई सडक कालोपत्रे

लोकपथ
763
Shares
फाइल तस्बिर

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा चालु आर्थिक वर्षमा दुई सडक कालोपत्रे गरिएका छन् । भीरकोट–६ को सुन्दर बजार–मोहनडाँडा–ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्रे गरिएको छ । सुन्दरबजारदेखि–स्वरेक मैदान सडकको सडक कालोपत्रे गर्ने काम सकिँदैछ ।

सुन्दरबजारदेखि पर्वतको हातेमालोचोक जोड्ने सडक कालोपत्रेको काम भइरहेको भीरकोट नगरपालिकाका इन्जिनियर सरोज पराजुलीले बताए । आगामी असार २० गतेसम्म सडक कालोपत्रे सक्ने गरी काम भइरहेको उनको भनाइ छ ।  सडक कालोपत्रेसँगै पक्की नाली र पर्खाल निर्माण गर्ने काम भइरहेको छ । 

त्यस्तै सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडक  स्तरोन्नति गरिएको छ । विसं २०८१ पुस २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त सडक आगामी जेठ मसान्तसम्ममा सक्नुपर्ने भए पनि तोकिएको समय अगावै सम्पन्न भएको योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले बताए । उक्त सडकमा पर्खाल बनाउने, जाली हाल्ने र पक्की नाली निर्माण गरिएको छ । 

नगरपालिकाले नगरका गौरवका सडकलाई प्राथमिकताका आधारमा निर्माण गर्दै आएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए। सुन्दरबजारदेखि पर्वतको हातेमालोचोक जोड्ने सडक ५० प्रतिशत संघीय समपूरक अनुदान र ५० प्रतिशत नगरपालिकाको लागत सहभागितामा सञ्चालन भएको उनले बताए । त्यस्तै सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडक गण्डकी प्रदेश सरकारको समपूरक अनुदान ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण सम्पन्न भइसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?