‘कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन’

लोकपथ
322
Shares
फाइल तस्बिर

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताएका छन् ।  

नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारणसभामा आज  उनले कृषिलाई यान्त्रीकरण गर्दै जानुपर्ने आवश्यकता भए पनि यस्ता उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताए। 

मन्त्री अधिकारीले किसानले महँगोमा किनेका उपकरण बर्सेनि मर्मतकै लागि धेरै खर्च गर्नु परिरहेको भन्दै यस्तो अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए।

‘कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको छ । यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न आवश्यक छ । त्यो अवस्था नबन्दासम्म किसानले पनि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर मात्रै खरिद गर्न आवश्यक छ, ‘उनको भनाइ थियो । 

मन्त्री अधिकारीले उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषिप्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै सरकारअघि बढिरहेको सुनाए । 

आधुनिक कृषियन्त्र तथा उपकरणमा अनुदानका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भएको उल्लेख गर्दै उनले यसलाई अझ प्रभावकारी बनाउन सरोकारमा भएका पक्षसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?