काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य मानिने अमृत साइन्स क्याम्पस (अस्कल क्याम्पस) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी रहेको छ ।
बिहान ८ बजेबाट सुरु भएको निर्वाचन अहिले शान्त वातावरणमा भइरहेको अस्कलका एक विद्यार्थी नेताले जानकारी दिए । हालसम्म ५ सय हाराहारीमा मत खसेको ती नेताको दाबी छ ।
त्यहाँ कुल १ हजार ९ सय ६३ विद्यार्थी मतदाता रहेका छन् । अमृत साइन्समा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन (नेविसंघ) बाट राजु लामिछाने (राजु मास्टर) उम्मेदवार छन् भने एमालेनिकट अनेरास्ववियुबाट रुद्रहरि पोखरेल उम्मेदवार छन् ।
त्यस्तै, अखिल क्रान्तिकारीले विश्राम शर्मा पौडेललाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ । यसबाहेक राप्रपा लगायत विद्यार्थी संगठनले समेत आ–आफ्ना उम्मेदवार खडा गरि चुनावी मैदानमा उतारेका छन् ।
त्रिभुवन विश्वविद्यालयले गत चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तोके पछि विद्यार्थी संगठनको आन्तरिक किचलोका कारण आज निर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया